एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

आगामि एसइई परीक्षा नजिकिदैँ गर्दा देशभरका विद्यार्थीहरुको तयारी तिव्र बन्दै गएको छ। परीक्षा बोर्डका अनुसार हरेक वर्षको एसइई परीक्षा सामान्यतया चैत महिनाको पहिलो वा दोस्रो हप्ताबाट हुने गर्दछ। यो परीक्षा विद्यार्थी जीवनको एक महत्वपुर्ण मोड मानिन्छ, किनभने यस परीक्षामा उतीर्ण भएपछि विद्यार्थीले औपचारिक रुपमा माध्यमिक तह पुरा गरेको मान्यता प्राप्त गर्दछ ।

Advertisement

एसइई भनेको के हो ?
एसइई परीक्षा भनेको विद्यार्थीले कक्षा १० सम्म अध्ययन गरेका ज्ञान,सीप,विषयवस्तु,सीप क्षमताको औपचारिक मुल्याकंन गर्ने राष्ट्रिय स्तरको परीक्षा हो । यस परीक्षाको मुख्य उद्धेश्य भनेको विद्यार्थीको माध्यमिक तहको व्यवहारीक सीप,शैक्षिक योग्यता,तार्किक सोच र समस्या समाधान क्षमताको परिक्षण गर्नु हो । यस परीक्षा उत्तीर्ण गरेपछि विद्यार्थीले माध्यमिक शिक्षा प्रमाणपत्र ( Secondary Education Examination Certificate) प्राप्त गर्दछन, जुन प्रमाणपत्र आधारभुत शिक्षा पूरा गरेको आधिकारीक प्रमाण हो ।

एसइई परीक्षा मार्फत विद्यार्थीहरुले गणित,विज्ञान,सामाजिक अध्ययन ,नेपाली र अंग्रेजी जस्ता मुख्य विषयमा आफ्नो क्षमता देखाउँछन भने अघिल्ला वर्षहरुमा सिकेका ज्ञान कत्तिको प्रभावकारी ढंगले प्रयोग गर्न सकिन्छ भन्ने कुराको पनि मूल्यांकन गर्न मद्धत गर्दछ । त्यस्तै यस परीक्षाले विद्यार्थीमा आत्मविश्वास ,आत्मसुधार,भविष्यमा आउने परीक्षाको सामना गर्न सक्ने क्षमतामा वृद्धि गर्न मद्धत गर्दछ ।

एसइई परीक्षा केवल एउटा शैक्षिक मूल्यांकनमा मात्र सिमित नभइ विद्यार्थीको भविष्यको दिशानिर्देशन गर्ने आधार पनि हो । यस परीक्षा पश्चात विद्यार्थीले आफ्नो रुची,क्षमता,र लक्ष्यअनुसारका विषयहरु विज्ञान,व्यवस्थापन,मानविकी,शिक्षा तथा प्राविधिक र अन्य विषय रोज्न पाउने अवसर प्राप्त गर्दछन् । समाजिक र पेशागत क्षेत्रमा पनि एसइई प्रमाणपत्रलाई विद्यार्थीले आधारभुत शिक्षा पुरा गरेको प्रमाणित गर्ने महत्वपुर्ण आधार हो ।

एसइई परीक्षाको प्रमाणपत्रले रोजगारीको अवसर ,प्रतियोगितात्मक परीक्षा ,छात्रवृति साथै अन्य शैक्षिक अवसरमा प्रतिस्पर्धा गर्ने अवसर मिल्छ । यस एसइई परीक्षाले विद्यार्थीलाई पढाइमा नियमित रहन ,लक्ष्यमा ध्यान दिन र समस्या समाधान खोज्ने बानी विकास गर्न सहयोग पुर्याउँछ । यो परीक्षा केवल अंकका लागि मात्र नभई जीवनोपयोगी सिकाइ र आत्म अनुशासनको अभ्यास गर्ने महत्वपुर्ण चरण हो।