महँगी फेरि तात्यो, ब्याजदर बढ्ने संकेत बलियो — अष्ट्रेलियाका लाखौँ घरधनी दबाबमा

Advertisement

अष्ट्रेलियामा डिसेम्बर महिनाको मुद्रास्फीति तथ्याङ्क अपेक्षाभन्दा उच्च आएपछि रिजर्भ बैंक अफ अष्ट्रेलियाले आगामी बैठकमा ब्याजदर बढाउने सम्भावना बलियो बनेको छ। यसले लाखौँ घरधनीको आर्थिक भार थप बढाउने संकेत देखिएको छ।

अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (ABS) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो १२ महिनामा उपभोक्ता मूल्य सूचकांक (CPI) ३.८ प्रतिशत पुगेको छ, जुन नोभेम्बरको ३.४ प्रतिशतभन्दा माथि हो। अर्थशास्त्रीहरूले अनुमान गरेको करिब ३.५ प्रतिशतको तुलनामा यो दर उच्च देखिएको हो।

रिजर्भ बैंकको प्रमुख सूचक Trimmed Mean Inflation पनि ३.३ प्रतिशत पुगेको छ, जुन केन्द्रीय बैंकको लक्ष्य दायराभन्दा माथि रहेको छ।

तथ्याङ्क सार्वजनिक हुनु अघि चार ठूला बैंकहरूबीच ब्याजदर बढाउने वा स्थिर राख्ने विषयमा मत विभाजित थियो। तर वेस्टप्याक र एएनजेडले पछिल्लो तथ्याङ्कपछि आफ्नो पूर्वानुमान परिवर्तन गर्दै अब ०.२५ प्रतिशत विन्दुको ब्याजदर वृद्धि हुने सम्भावना औँल्याएका छन्।

वेस्टप्याककी प्रमुख अर्थशास्त्री लुसी एलिसका अनुसार डिसेम्बर त्रैमासिकको मुद्रास्फीति नै नीतिगत निर्णयका लागि निर्णायक बनेको छ। उनले आगामी मौद्रिक नीति बैठकमा नगद दर ३.८५ प्रतिशत पुर्‍याइने सम्भावना उच्च रहेको बताएकी छन्।

बैंक अफ क्वीन्सल्याण्डका प्रमुख अर्थशास्त्री पिटर मन्कटनले पनि अधिकांश मुद्रास्फीति सूचकहरू रिजर्भ बैंकको लक्ष्यभन्दा माथि रहेको र उपभोक्ता तथा व्यवसायिक मुद्रास्फीति अपेक्षामा समेत वृद्धि देखिएको बताए। उनका अनुसार यसले रिजर्भ बैंकमाथि ब्याजदर वृद्धि गर्न थप दबाब सिर्जना गरेको छ।

यसको प्रभाव घरपरिवारको दैनिक खर्चमा समेत देखिन थालेको छ। उपभोक्ता वित्त विज्ञ जोएल गिब्सनका अनुसार अगस्ट २०२५ मा अष्ट्रेलियाली घरपरिवारले साप्ताहिक औसत १७८ डलर किरानामा खर्च गरिरहेका थिए। हालको मुद्रास्फीति दर कायम रहेमा आगामी वर्षभरिमा थप करिब ३१२ डलर खर्च बढ्ने अनुमान गरिएको छ।

आवश्यक उपभोग्य वस्तुहरूमा मूल्यवृद्धि उल्लेखनीय छ। तथ्याङ्कअनुसार कफी, चिया र कोकोको मूल्य १५.३ प्रतिशतले बढेको छ भने भेडा तथा बाख्राको मासु १३.४ प्रतिशत र गाई–भैंसीको मासु १०.८ प्रतिशतले महँगिएको छ।

यदि ०.२५ प्रतिशत विन्दुको ब्याजदर वृद्धि भयो भने करिब ६ लाख ९४ हजार डलरको औसत गृहकर्जामा मासिक किस्ता करिब ११५ डलरले बढ्ने अनुमान छ। यसले एक औसत अष्ट्रेलियाली घरपरिवारको वार्षिक खर्चमा करिब २,१९२ डलर थप बोझ पर्ने देखिएको छ।

रिजर्भ बैंक अफ अष्ट्रेलियाले आगामी मंगलबार आफ्नो अर्को ब्याजदर निर्णय सार्वजनिक गर्नेछ।