न्यू साउथ वेल्समा ‘Nurse Led Clinic’ कार्यक्रम विस्तार, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सहज

Advertisement

दक्षिणी न्यू साउथ वेल्स (NSW) का विभिन्न मेडिकल सेन्टरमा कार्यरत नर्सहरू अब सिधै बिरामी उपचारको अग्रपंक्तिमा उत्रिएका छन्, जसको उद्देश्य सामान्य चिकित्सक (GP) माथिको दबाब घटाउनु हो।

Murrumbidgee Primary Health Network द्वारा सञ्चालन गरिएको ‘Nurse-Led Clinics’ पहल गत वर्ष रिभरिना (Riverina) क्षेत्रमा १८ क्लिनिकहरूमा परीक्षण गरिएको थियो।
सफल परीक्षणपछि अब यो कार्यक्रमलाई २८ स्थानमा विस्तार गर्न लागिएको हो।

कार्यक्रममा संलग्न नर्सहरूले बिरामीको दीर्घरोग व्यवस्थापन र नियमित स्वास्थ्य परीक्षणमा ध्यान केन्द्रित गर्छन्, तर प्रत्यक्ष रोग निदान चिकित्सकहरूले गर्छन्।
बुरोवा स्ट्रिट प्र्याक्टिस (Boorowa Street Practice) की नर्स रक्सान ओ’राइली का अनुसार, यो पहलले ग्रामीण समुदायमा स्वास्थ्य पहुँच सहज बनाएको छ।
“यो चुनौतीपूर्ण भए पनि सन्तोषजनक काम हो, किनभने यसले समुदायमा प्रत्यक्ष प्रभाव पार्छ,” उनले भनिन्।

रक्सानले आफ्नो क्लिनिकमा विशेष गरी मधुमेह (Diabetes) बिरामीहरूको निगरानी र उपचारमा जोड दिएकी छन्।
उनका अनुसार, “डायबिटिक बिरामीका लागि फुट–केयर क्लिनिकले अंग गुमाउने वा अस्पताल जानुपर्ने जोखिम घटाएको छ।”

यो कार्यक्रम विस्तारसँगै रजिष्टर नर्सहरूलाई औषधि प्रेस्क्राइब गर्ने अधिकार दिने तयारी पनि भइरहेको छ।
ग्रामीण क्षेत्रमा GP को अभावका कारण धेरै समुदायहरू डाक्टर भर्ना गर्न कठिनाइमा परेका छन्।

NSW स्वास्थ्य तथ्यांकअनुसार, यस वर्षको पहिलो छ महिनामा मात्र ११ हजारभन्दा बढी बिरामी गैर–आपतकालीन उपचारका लागि आपतकालीन कक्षमा पुगेका थिए।

स्थानीय चिकित्सक डा. चेर्थ विक्रमारत्ने का अनुसार,
“यो कार्यक्रमले डाक्टरहरूलाई जटिल केसका बिरामीमा बढी समय दिन सहज बनाएको छ।
पहिले गर्न नपाएका फलो–अप अपोइन्टमेन्टहरू अहिले सहज रूपमा भइरहेको छ।”

Murrumbidgee Primary Health Network की परियोजना अधिकारी एलिस पेन्टन ले बताइन्,
“हामीले यो मोडेल अझ धेरै क्षेत्रमा विस्तार गर्दैछौं।
यसले GP र अस्पताल प्रणाली दुवैको भार घटाउनेछ, विशेष गरी दीर्घरोगी बिरामीहरूको उपचारमा।”

गत वर्षको परीक्षण मूल्यांकन अनुसार, ९४ प्रतिशत GP र प्र्याक्टिस म्यानेजरहरूले यो मोडेललाई व्यवहारिक र दीगो भनेका छन्, र ८७ प्रतिशतले यसलाई निरन्तर अपनाउने इच्छा व्यक्त गरेका छन्।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार, यो पहलले अस्ट्रेलियाको ग्रामीण स्वास्थ्य सेवा प्रणालीलाई दिगो र समुदायमुखी बनाउने दिशामा ठूलो योगदान पुर्‍याउनेछ।

spot_img