
सिरहा । भ्रष्टाचार, बेथिति र नेताहरूको अनियमितताविरुद्ध जेनजीको अगुवाइमा भदौ २३ गते देशभर प्रदर्शन भएपनि २४ गते प्रदर्शन हिंसात्मक मोडमा गएपछि सिरहाको कल्याणपुर नगरपालिका पनि क्षतिग्रस्त बनेको छ ।
नगरपालिकास्थित कार्यालयमा बिहानै करिब ४०/५० जनाको समूह प्रवेश गरी तोडफोड, आगजनी र लुटपाट गरेको नगरपालिकाले जनाएको छ । प्रहरीले रोक्ने प्रयास गरेपनि भिडले कार्यालयका कागजातदेखि जिन्सीसम्म नष्ट गरेको र अधिकांश सर सामान लुटेर लगेको बताइएको छ ।
आगोले नगरपालिकाको ट्र्याक्टर, जेनेरेटर पूर्णरूपमा जलेको छ भने कार्यालयभित्रका दराज, कम्प्युटर, टेबल, सोफा र कुर्सीमा समेत तोडफोड र आगजनी भएको छ । यसबाट करिब दुई करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।
उपद्रवमा संलग्नको नेतृत्व नगरकै वडाध्यक्ष विनोदकुमार यादवले गरेको आरोप छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा उनी भिडलाई उक्साइरहेको देखिन्छ । स्थानीय प्रत्यक्षदर्शीले समेत आगजनीका लागि पेट्रोल खरिद गर्न उनले पैसा दिएको दाबी गरेका छन् ।
कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह अख्तियारद्वारा एक लाख रुपैयाँ घुससहित पक्राउ परेपछि निलम्बनमा परेका थिए । उनी निकट रहेका वडाध्यक्ष यादवले विगतदेखि नै विवाद सिर्जना गर्दै आएको कार्यवाहक नगरप्रमुख रेखा देवी यादवले आरोप लगाइन् ।
उनका अनुसार, यसपल्ट भने आन्दोलनलाई अवसर बनाएर यादवले तोडफोडमा सक्रियता देखाएका हुन् । भिडले नगरपालिकामात्र होइन, नजिकैको वडा नं. ११ को कार्यालय र इलाका प्रहरी कार्यालय, कल्याणपुरमा पनि तोडफोड, आगजनी र लुटपाट गरेको छ ।
यो कार्यको स्थानीयहरूले तीव्र निन्दा गरेका छन् । तर, वडाध्यक्ष यादवले आफू निर्दोष भएको दाबी गरेका छन् । घटनास्थलमा आफू समेत पुगेको तर संलग्न नभएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी निरीक्षक धीरज पटेलका अनुसार, तोडफोड र आगजनीका भिडियो एवम् फोटो संकलन गरी अनुसन्धान भइरहेको छ ।
सिरहामा भएको हिंसात्मक आन्दोलनका क्रममा तीन दर्जनभन्दा बढी सरकारी कार्यालयमा आक्रमण भएको प्रहरीले जनाएको छ । अवस्था सामान्य बन्दै गएपछि क्षतिको विवरण संकलन र संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही अघि बढाइएको छ ।





