जग्गी अड्डा अगाडि जेनजीबीच कुटाकुट

Advertisement

काठमाडौं । मुलुक राजनीतिक संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बेला अन्तरिम सरकार गठनका लागि भइरहेको छलफलबीच राजधानीमा तनावपूर्ण घटना भएको छ। जंगी अड्डाभित्र र बाहिर दुवै ठाउँमा जेन–जी आन्दोलनकारीहरूबीच मतभेद चर्किएपछि झडप समेत भएको छ।

जंगी अड्डाभित्र विवाद

पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको नाम अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव भएपछि समर्थन गर्ने र असहमति जनाउने जेन–जी समूहबीच जंगी अड्डाभित्रै विवाद चर्किएको थियो। त्यस क्रममा धकेलाधकेल र झडप हुँदा केही युवाहरू घाइते भएका छन्। नेपाली सेनाले तत्काल सुरक्षा व्यवस्थामा कडाइ गर्दै भिड नियन्त्रण गरेको बताइएको छ।

सडकमा पनि तनाव

उता, माइतीघर–भद्रकाली सडक खण्डमा सुरक्षाकर्मीको कडाइ हुँदाहुँदै पनि जंगी अड्डा बाहिरका युवाबीच कुटाकुट भएको छ। भिड झडपमा परिणत भएपछि सुरक्षाकर्मीले परिस्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको स्रोतले जनाएको छ।

नयाँ प्रस्ताव : कुलमान घिसिङ

यस्तै, वर्तमान राजनीतिक संकट समाधानका लागि जेन–जी नेपालले विज्ञप्ति जारी गर्दै अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ। विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचारको अन्त्य, बेथिति नियन्त्रण र सुशासन कायम गर्ने आन्दोलन अभूतपूर्व सफलताको नजिक पुगेको छ। जेन–जी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै यसको निष्कर्ष आउनेछ।”

अन्य नाममा छलफल

विज्ञप्तिमा स्पष्ट गरिएको छ कि प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख **बालेन्द्र साह (बालेन)**लाई योग्य उम्मेदवारका रूपमा हेरिएको थियो। तर, उनले यस प्रक्रियामा रूची नदेखाएपछि नयाँ विकल्प खोजिएको हो। सोही क्रममा धरानका मेयर हर्क साम्पाङको नाममा पनि छलफल भए पनि सबैलाई नेतृत्व दिन सक्ने सम्भावना न्यून भएकाले प्रस्ताव अघि नबढाइएको उल्लेख छ।

त्यस्तै, भर्चुअल छलफलमा पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको नाममा समर्थन भए पनि संविधानअनुसार न्यायाधीशहरू यस पदका लागि योग्य नहुने र उमेर सीमा समेत पार गरिसकेको कारण उनको नाम अस्वीकृत गरिएको बताइएको छ।

यसरी अन्ततः जेन–जी समूहले कुलमान घिसिङलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि प्रस्ताव गर्ने सहमति बनाएको छ। हालैसम्म विद्युत क्षेत्रमा महत्वपूर्ण सुधार गरेका घिसिङलाई अब राजनीतिक नेतृत्वमा ल्याउने तयारीले मुलुकको राजनीतिक परिदृश्यमा नयाँ बहस सुरु भएको छ।

spot_img