सहिद श्रीयम : परिवार अझै पनि शवको प्रतीक्षामा

spot_img

काठमाडौं। जेन–जी आन्दोलनको क्रममा प्रहरीको गोली लागी ज्यान गुमाएका १८ वर्षीय श्रीमय (श्रीयम) चौलागाईंको परिवार अझै पनि उनको शव पर्खिरहेको छ। मोरङको लक्ष्मीमार्गका श्रीयम सोमबार बिहानै कलेजबाट फर्कंदै गर्दा आन्दोलनमा सहभागी भए, तर अब उनी कहिल्यै फर्केर घर जान पाएनन्।

घटनाको विवरण

ग्लोबल कलेजमा अध्ययनरत श्रीयम सोमबार कक्षा सकेर काँडाघारीतर्फ फर्किँदै गर्दा माइतीघर मण्डलामा भइरहेको जेनजी आन्दोलनमा सहभागी बने। त्यस क्रममा प्रहरीले चलाएको गोली टाउकोमा लागेर उनको मृत्यु भएको परिवारजनले बताएका छन्। उनी हालै मात्र प्रवेशिका परीक्षा सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका थिए।

परिवारको पीडा

श्रीयमलाई सामान्यतया राजनीतिमा रुचि थिएन। तर, भ्रष्टाचारविरुद्धको जेनजी अभियानले उनलाई समेत आकर्षित गरेको परिवारको भनाइ छ। उनका मामा केशव कार्की भन्छन्, “भान्जा पढाइमा तेज थिए, राजनीतिमा खास सक्रिय थिएनन्। तर, आन्दोलनले उनलाई छोएको रहेछ। देशको निकास दिनुपर्ने सोचसहित आन्दोलनमा होमिएका रहेछन्, तर विडम्बना अब उनी हाम्रो बीचमा छैनन्।”

परिवारका सदस्यहरू अझै पनि असह्य पीडामा छन्। श्रीमयका बुबा गणेश चौलागाईं निरन्तर अनुरोध गर्दै आएका छन्, “हामीलाई कम्तीमा छोराको लास दिनुहोस्। त्यो नै हाम्रो लागि ठूलो सहयोग हुनेछ।”

शव नपाएको गुनासो

श्रीयम सोमबार बेलुकीसम्म घर नफर्केपछि परिवारजनले खोजी थालेका थिए। पछि ट्रमा सेन्टर पुगेका मामाले मृतकको सूचीमा उनको नाम सातौँ नम्बरमा देखे। अहिले शव भद्रकालीस्थित सुरक्षा निकायको नियन्त्रणमा रहेको जानकारी परिवारले पाएको छ। तर, अहिलेसम्म शव बुझाउने प्रक्रिया सुरु भएको छैन।

सहिद घोषणा माग

परिवारले श्रीयम मात्र नभई आन्दोलनमा ज्यान गुमाएका सबै युवालाई ‘सहिद’ घोषणा गर्नुपर्ने माग गरेका छन्। मामा कार्कीले भने, “अब सहिद घोषणा गरेर मात्र केही भए पनि न्याय भएको अनुभूति हुनेछ। परिवार र आफन्तहरू अहिले आँसु र पीडामै डुबेका छन्। अन्तिम इच्छा एउटै हो—छोराको लास चाहियो।”

नेतृत्वप्रति असन्तोष

श्रीयमका परिवारले जेनजी नेतृत्वप्रति असन्तोष व्यक्त गरेका छन्। उनका बुबा गणेश भन्छन्, “जेनजी नेतृत्व कसले गरिरहेको छ भन्ने नै अन्योल छ। आन्दोलनको नाममा राजनीति चलिरहे पनि सहिद परिवारसँग अझै सम्पर्क गरिएको छैन।”

जेनजी आन्दोलनले राजनीतिक परिवर्तनको माग गर्दै मुलुकभर आवाज उठाइरहेका बेला श्रीयमजस्ता नवनिर्माणका सपना बोकेका युवाको बलिदानले आन्दोलनलाई थप गहिरो बनाएको छ। तर, परिवारलाई अझै पनि छोराको शव नपाउनु आन्दोलनभित्रैको संवेदनशील प्रश्न बनेको छ।

spot_img