रौतहटमा सेनाको गस्ती सुरु, गौर कारागारबाट २३३ कैदी फरार

spot_img

रौतहट, रौतहटमा जारी ‘जेन–जी आन्दोलन’का कारण परिस्थिती चर्किएपछि स्थानीय प्रशासनले जिल्लाभर अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) विनोद कुमार खड्काले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क) अनुसार अर्को आदेश नआउन्जेलसम्मका लागि कर्फ्यू लागू हुने जानकारी दिएका हुन्।

प्रशासनले जारी गरेको आदेशअनुसार जिल्लाभित्र कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ पूर्णरूपमा निषेध गरिएको छ। आदेश पालना नगर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी पनि दिइएको छ।

सेनाको गस्ती

कर्फ्यू लागू भएपछि गौर, चन्द्रनिगाहपुर, गरुडा लगायतका मुख्य स्थानमा नेपाली सेनासहितका सुरक्षाकर्मीले बुधबार बिहानदेखि नै गस्ती थालेका छन्। जंगी अड्डाको निर्देशनअनुसार नेपाली सेनाले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सक्रिय गस्ती चलाइरहेको जनाइएको छ।

सेनाको गस्ती सुरु भएपछि स्थानीय क्षेत्रमा केही शान्ति देखिएको भए पनि आम नागरिक त्रसित भएको बताइन्छ।

गौर कारागार तोडफोड

यसबीच, मंगलबार राति गौर कारागारमा भएको हुलहुज्जतपछि २३३ जना कैदी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणी गिरीका अनुसार, फरारमध्ये हालसम्म ३४ जनालाई पुनः नियन्त्रणमा लिइएको छ भने बाँकी कैदीहरुको खोजतलास तीव्र गतिमा जारी छ।

गिरीका अनुसार, गौर कारागारमा २४ जना बाहेक सबै कैदीहरुले तोडफोड गरी भाग्ने प्रयास गरेका थिए। कारागारको संरचना कमजोर र सुरक्षामा कमी भएकाले यस्तो ठूलो संख्यामा कैदी भाग्न सफल भएको प्रष्ट पारिएको छ।

परिस्थिति गम्भीर

पछिल्लो समय ‘जेन–जी आन्दोलन’का कारण मुलुककै विभिन्न स्थानमा अशान्ति चर्किँदै गएको छ। रौतहटमा कर्फ्यू जारी हुनु, सेनाको गस्ती बढ्नु र कैदी फरार हुनु, यी घटनाले परिस्थिती अझ संवेदनशील बनेको देखिन्छ।

सुरक्षा निकायहरूले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् भने फरार कैदीलाई चाँडै नियन्त्रणमा लिने तयारी भइरहेको जनाएका छन्।

spot_img