विपिन जोशीको अवस्था अझै अज्ञात, उच्च प्राथमिकतामा खोजी जारी: परराष्ट्र मन्त्रालय

spot_img

परराष्ट्र मन्त्रालयले सबै कूटनीतिक प्रयासका बाबजुद हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ। मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले विपिनको अवस्थाबारे जानकारी लिन उच्च प्राथमिकतामा निरन्तर पहल गरिरहेको तर हालसम्म ठोस जानकारी प्राप्त हुन नसकेको जनाएको हो।

मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनिएको छ – “विपिन जोशीको अवस्थाबारे थाहा पाउन विभिन्न तहमा निरन्तर पहल भइरहेको छ। नेपाल सरकारको तर्फबाट यो मुद्दालाई अत्यन्तै संवेदनशील र प्राथमिकताको विषय बनाई काम भइरहेको छ।”

अक्टोबर ७ को हमास आक्रमणपछि बेपत्ता

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको भीषण आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। सोही आक्रमणको दिनदेखि गैरआवासीय नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएको पुष्टि भएको थियो। त्यसयता उनको अवस्था र अवस्थाबारे कुनै आधिकारिक जानकारी आउन सकेको छैन।

आमा र बहिनी इजरायलमा

विपिन जोशीको आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी अहिले इजरायलमा रहेर विपिनको मुक्तिका लागि सक्रिय अभियान सञ्चालन गरिरहनुभएको छ। उहाहरू यसै अगस्ट ११ मा इजरायल पुग्नुभएको हो। इजरायलमा रहँदै उहाहरूले राष्ट्रपति, सरकारी अधिकारीहरू, विभिन्न निकायका प्रतिनिधिहरूसँग भेट गरी विपिनलाई सुरक्षित फिर्ता गर्न आग्रह गर्नुभएको छ। साथै, प्रमुख सञ्चारमाध्यममार्फत पनि विपिनबारे निरन्तर आवाज उठाइरहनुभएको छ।

अन्तर्राष्ट्रिय अपील र कूटनीतिक पहल

जोशी परिवारले विपिनको सुरक्षित रिहाइका लागि अन्तर्राष्ट्रिय समुदाय, मानव अधिकार निकाय र सम्बन्धित कूटनीतिक तहलाई समेत आव्हान गर्दै आएका छन्। इजरायलमा रहेका नेपाली समुदायले पनि उनलाई सहयोग र समर्थन जनाइरहेको छ।

नेपाल सरकारले यसअघि पनि कूटनीतिक माध्यममार्फत विपिनको अवस्थाबारे जानकारी लिन निरन्तर पहल गरिरहेको र यसलाई समाधान गर्न सबै सम्भावित प्रयास जारी रहेको स्पष्ट पारेको छ।

विपिन जोशीको अवस्थाबारे ठोस जानकारी आउन बाँकी छ। परिवार, नेपाली समुदाय र सरकारले गरेको निरन्तर प्रयासबीच अब सबैको आशा भनेको विपिनलाई शीघ्र सुरक्षित रूपमा स्वदेश फर्काउन सकिने हो।

spot_img