
क्यानबेरा । अष्ट्रेलियन नेशनल युनिभर्सिटी (ANU) ले आफ्नो चलिरहेको Renew ANU पुनर्संरचना योजनाअन्तर्गत फेरि पनि जागिर कटौती गर्ने निर्णय गरेको छ। यसपटक सुरक्षा, सरसफाइ व्यवस्थापन र मर्मतसम्भार सेवामा काम गर्ने कर्मचारीहरू प्रभावित हुने भएका छन्।
संसारकै प्रतिष्ठित विश्वविद्यालयमध्ये एक मानिने एएनयूले १६ पद खारेज गर्ने, ८ रिक्त पद नभरिने र १८ नयाँ पद सिर्जना गर्ने योजना सार्वजनिक गरेको छ। त्यस्तै १७ पदलाई फेरि मिलाएर नयाँ संरचना बनाइने बताइएको छ। क्याम्पस वातावरण विभागमा कार्यरत कर्मचारीहरूलाई अगस्ट १४, बिहीबार जानकारी दिइएको हो।
संरचना परिमार्जनको उद्देश्य
मुख्य क्याम्पस वातावरण अधिकारी Jeremy Matthew.का अनुसार प्रस्तावित संरचनाले योजना र आम्दानी पक्ष तथा सेवा वितरणबीच स्पष्ट विभाजन ल्याउने लक्ष्य राखेको छ। उनले गत दुई वर्षमा मर्मतसम्भार टिमले करिब ४०–५० वटा ठूला–साना ठेक्कालाई घटाएर २०–२५ वटा “ठूला विश्वविद्यालय सेवा ठेक्का” मा सीमित गर्ने काम गरिरहेको जानकारी दिनुभएको थियो।
निरन्तर बढ्दो कटौती
यो यस विभागमा भएको दोस्रो संरचनागत परिवर्तन हो। यसअघि २०२४ मा पनि Renew ANU अभियानअन्तर्गत यो क्षेत्र प्रभावित भएको थियो। २०२४ यता १३५ जना कर्मचारीले स्वेच्छिक अवकाश लिएका छन् भने ८३ जनाले प्रत्यक्ष रुपमा जागिर गुमाएका छन्। यो सातौं पटकको प्रस्तावित संरचनात्मक परिवर्तन हो जसअन्तर्गत विश्वविद्यालयले १० करोड डलर बराबरको तलब खर्च कटौती गर्ने लक्ष्य लिएको छ।
विद्यार्थी र कर्मचारीको विरोध
गत जुलाई १५ मा नेशनल टर्टियरी एजुकेशन युनियन (NTEU) ले विश्वविद्यालयमा भइरहेको निरन्तर कटौतीविरुद्ध विद्यार्थी, कर्मचारी र समर्थकहरूको ठूलो प्रदर्शन गरेको थियो। यसैबीच, अगस्ट १२ मा भएको सिनेट सुनुवाइमा वरिष्ठ प्राध्यापकLiz Allenले कुलपति Julie Bishopलाई धम्की र दुर्व्यवहार गरेको आरोप लगाउनुभएको थियो। बिसपले भने ती आरोप अस्वीकार गर्नुभएको छ।
अझै परिवर्तन आउने सम्भावना
हालै सार्वजनिक गरिएको प्रस्ताव दुई सातासम्म परामर्शका लागि खुला रहनेछ र सेप्टेम्बर २५ सम्म लागू गरिने योजना छ। यससँगै विश्वविद्यालयको आवासीय अनुभव डिभिजन, शैक्षिक पोर्टफोलियो, अनुसन्धान तथा नवप्रवर्तन पोर्टफोलियो, विज्ञान तथा चिकित्सा संकाय, र कला तथा समाजशास्त्र संकायमा समेत परामर्श प्रक्रिया जारी छ।
त्यसपछि विश्वविद्यालयले मार्केटिङ तथा सञ्चार, मानव स्रोत व्यवस्थापन, वित्त तथा व्यावसायिक सेवा, र एशिया तथा प्यासिफिक संकायमा समेत संरचनागत परिवर्तन गर्न सक्ने संकेत दिएको छ। सबै प्रस्ताव अक्टोबर ३१ भित्र सार्वजनिक गरिनेछन्।
राजनीतिक दबाब
ACT Senator Katy Gallagherले Renew ANU को कार्यान्वयनमा ठूलो समस्या देखिएको बताउँदै उपकुलपति र संघीय मन्त्रीसँग प्रत्यक्ष कुरा उठाइसकेको खुलासा गरेकी छन्। उहाँले भन्नुभयो, “हामी परिणाममुखी समाधान खोजिरहेका छौं, तर हालको प्रक्रियाले अझै धेरै प्रश्न उठेकोको छ।”
