वीरगंज कारागारका कैदीको अस्पतालमा मृत्यु, परिवारजनद्वारा प्रदर्शन

Advertisement

वीरगंज । वीरगंज कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका एक कैदीको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि परिवारजनले अस्पतालमा प्रदर्शन गरेका छन् ।

वीरगंज महानगर २५ खल्वाटोला निवासी २०७९ देखि कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गर्दै आएका राहुल साह तुरहा मंगलबार नारायणी अस्पताल वीरगंजमा उपचारका क्रममा निधन भएको थियो ।

कारागार प्रमुख खिमराज भुसालका अनुसार, तुराहालाई बिहान छाती दुख्ने र फुल्ने समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल प्रवक्ता डा. उदयनारायण सिंहले तुराहाको हृदयघातबाट मृत्यु भएको पुष्टि गरेका छन् ।

डा. सिंहका अनुसार, तुराहा कारागारको जिममा डिप उठाउने क्रममा हृदयघात भएको थियो र गम्भीर अवस्थामा अस्पताल ल्याउँदा चिकित्सकहरूले सबै प्रयास गरेपनि जोगाउन सकेनन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, तुराहाको शव अस्पताल ल्याउँदा परिवारजनले उपचार ढिला गरिएको र अन्यत्र लैजानुपथ्र्यो भन्ने आरोप लगाएका थिए ।

तर अस्पताल र प्रशासनले प्रारम्भिक उपचारकै क्रममा तुराहाको स्वास्थ्य असामान्य भएको र चिकित्सकीय प्रयास सफल नभएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि चिकित्सकहरूले कुनै लापरबाही नगरेको उल्लेख गर्दै घटनालाई अतिरञ्जित नगर्न अपिल गरेका छन् ।

घटना अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबीन समिति गठन गरिएको छ । प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, समितिले दुई साताभित्र प्रतिवेदन बुझाउनेछ र आवश्यक परे कारवाही हुनेछ ।

प्रशासनिक प्रतिबद्धतापछि, दिनभरि अस्पताल क्षेत्रमा प्रदर्शन गरिरहेका परिवारजनले शव बुझ्न सहमति जनाएका थिए । शल्य परीक्षणपछि तुराहाको अन्तिम संस्कारका लागि शव परिवारको जिम्मा लगाइएको छ ।

spot_img