
बलिउड सुपरस्टार आमिर खानले मेलबर्नमा आयोजित २०२५ को भारतीय फिल्म महोत्सव (IFFM) को उद्घाटन गर्दै यसलाई सांस्कृतिक एकताको ठूलो पहलको रूपमा परिभाषित गर्नुभएको छ। महोत्सवले चलचित्रका माध्यमबाट विभिन्न संस्कृतिहरूलाई एकत्रित गर्नको महत्त्वलाई जोड दिएको छ।
आमिर खानले उद्घाटन समारोहमा बोल्दै भन्नुभयो”यहाँ मेलबर्नमा उपस्थित हुनु एक अद्भुत अनुभव हो। भारतीय फिल्म महोत्सवको हिस्सा बन्न पाउनु एक खुशीको कुरा हो। यो महोत्सव एक महान पहल हो जसले संस्कृतिहरूलाई एकजुट गर्ने काम गर्छ। म विश्वास गर्छु कि महोत्सवमा प्रदर्शन हुने फिल्महरू र फिल्म निर्माता यसको उत्कृष्ट अनुभव प्राप्त गर्नेछन्।”
महोत्सवको पहिलो दिनको सुरुआत एक प्रेस सम्मेलनसँग गरिएको थियो, जसमा भारतीय फिल्म उद्योगका प्रमुख हस्तीहरू र भिक्टोरियन सरकारका प्रतिनिधिहरूको उपस्थिति थियो। यस अवसरमा आमिर खानसँगै, फिल्म उद्योगका अन्य प्रमुख कलाकारहरू जस्तै विराट दास, तिलोत्तमा शोम, जिम सर्व, आदिति राव हैदरी, शोजीत सरकार, अश्विनी अयर तिवारी लगायतका प्रमुख व्यक्तिहरू उपस्थित हुनु भएको थियो।
महोत्सवको उद्घाटन रातमा “बक्षो बोंदी” नामक फिल्मको प्रिमियर गरियो, जसको निर्देशन तिलोत्तमा शोम र जिम सर्वले मिलेर गरेका छन्। यो फिल्म २०२५ को बर्लिन फिल्म महोत्सवमा प्रिमियर भएको थियो। फिल्ममा तिलोत्तमा शोमले मुख्य भूमिका निभाएकी छन्, जसले एक श्रमिक महिलाको संघर्ष र प्रेमको कथा प्रस्तुत गर्दछ।
महोत्सवको निर्देशक मितु भौमिक लांगेले यस अवसरमा भन्नुभयो, “हामीलाई गर्व छ कि आमिर खान जस्ता फिल्मी दिग्गज र अन्य महान कथाकारहरूको उपस्थितिमा यस महोत्सवको आयोजना गरिरहेका छौं। यो महोत्सव एक सांस्कृतिक उत्सव मात्र होइन, भारत र अष्ट्रेलियाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सेतुको रूपमा काम गर्नेछ।”
आमिर खानले आज १५ अगस्तको स्वतन्त्रता दिवसको अवसरमा भारतीय ध्वजा फहराउनु हुने छ। यस वर्षको महोत्सवमा करीब ७५ फिल्महरूको प्रदर्शन हुनेछ, जसले लैंगिकता, जाति, यौनिकता, अपांगता र महिलाको प्रतिनिधित्व जस्ता समावेशी मुद्दाहरूलाई उजागर गर्नेछ। महोत्सवको एक प्रमुख आकर्षण २२ अगस्तको LGBTQ+ प्राइड नाइट हुनेछ, जसमा समलैंगिक सिनेमा र दक्षिण एशियाली समलैंगिक पहिचानको सम्मान गरिनेछ।
भारतीय फिल्म महोत्सव २०२५ अष्ट्रेलियामा सांस्कृतिक विविधता र समावेशीता को उत्सवका रूपमा सबैको ध्यान आकर्षित गर्नेछ।
