मोदीले तोडे इन्दिरा गान्धीको रेकर्ड

xr:d:DAF0kf21rAA:8,j:729992793671166415,t:23111904
spot_img

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको ऐतिहासिक कीर्तिमान तोड्दै देशको दोस्रो सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहने नेता बनेका छन्। शुक्रबारसम्म मोदीले आफ्नो प्रधानमन्त्रीको कार्यकालको ४०७८ दिन पूरा गरेका हुन्, जुन संख्या इन्दिरा गान्धीको लगातार ४०७७ दिनभन्दा एक दिन बढी हो।

भारतको स्वतन्त्रतापछि प्रधानमन्त्रीका रूपमा सबैभन्दा लामो कार्यकाल पाएका व्यक्ति पंडित जवाहरलाल नेहरू हुन्, जसले १६ वर्ष २८६ दिनसम्म देशको नेतृत्व गरेका थिए।

नरेन्द्र मोदी १९४७ पछि जन्मिएका पहिलो प्रधानमन्त्री मात्र होइनन्, उनी भारतको सबैभन्दा लामो कार्यकाल सम्हाल्ने गैर-कांग्रेसी प्रधानमन्त्री पनि हुन्। साथै, गैर-हिन्दी भाषी राज्यबाट प्रधानमन्त्री बन्ने क्रममा पनि उनी पहिलो व्यक्ति हुन्, जसले यति लामो समयसम्म नेतृत्व गरेका छन्।

spot_img

प्रधानमन्त्री मोदीको राजनीतिक यात्राले अनेकौं ऐतिहासिक उपलब्धिहरू हासिल गरेको छ। उनी पहिलो गैर-कांग्रेसी नेता हुन् जसले दुई पटक पूर्ण बहुमत सहित लोकसभा चुनाव जितेर सरकार गठन गरेका छन् — सन् २०१४ र २०१९ मा। सन् २०२४ मा पनि उनी नेतृत्वमै भाजपा अगाडि बढेको छ।

त्यसैगरी, मोदी पहिलो प्रधानमन्त्री हुन् जसले पुनः पूर्ण बहुमतका साथ सरकार बनाएका छन्, इन्दिरा गान्धी (१९७१) पछिका समयपछि। पंडित नेहरूपछि मोदी पार्टीको नेताको रूपमा लगातार तीन आम निर्वाचन जित्ने पहिलो व्यक्ति बनेका छन्।

मुख्यमन्त्री र प्रधानमन्त्री दुवैको रूपमा हिसाब गर्दा, नरेन्द्र मोदीको कुल राजनीतिक नेतृत्व २४ वर्ष पुगेको छ। उनले गुजरातको मुख्यमन्त्रीको रूपमा २००१ देखि २०१४ सम्म सेवा गरे भने त्यसपछि भारतको प्रधानमन्त्रीका रूपमा निरन्तर नेतृत्व दिइरहेका छन्।

मोदी भारतका एकमात्र यस्ता नेता पनि बनेका छन्, जसले आफ्नो पार्टीको तर्फबाट लगातार छवटा ठूला निर्वाचनहरू जितेका छन् — गुजरातमा २००२, २००७ र २०१२ को विधानसभा चुनाव र भारतमा २०१४, २०१९, र २०२४ को लोकसभा चुनाव।

राजनीतिक इतिहासको पानामा नरेन्द्र मोदीको नाम अब भारतका स्थायी र सशक्त नेताहरूको सूचीमा अझ मजबूतीका साथ दरिएको छ। उनका आलोचक र समर्थकबीच विचार फरक भए पनि, नेतृत्वको दीर्घकालीन निरन्तरताले भारतको राजनीतिमा उनको गहिरो छाप छोडेको नकार्न सकिंदैन।

spot_img