
क्यानबेरा – अष्ट्रेलिया र बेलायतले AUKUS रक्षा गठबन्धनलाई आगामी ५० वर्षसम्म बलियो बनाउने उद्देश्यले ऐतिहासिक द्विपक्षीय सन्धि गर्न लागेका छन्। यस सन्धिले अमेरिका, अष्ट्रेलिया र बेलायतबीचको त्रिपक्षीय रणनीतिक समझदारी AUKUS लाई दीर्घकालीन विश्वसनीयता दिने विश्वास गरिएको छ, यद्यपि यस गठबन्धनको भविष्य अमेरिकामा हाल समीक्षामा रहेको छ।
बेलायतका रक्षा सचिव जोन हेलीले भने, “यो ऐतिहासिक सन्धिले आगामी आधा शताब्दीसम्म AUKUS प्रतिवद्धता सुनिश्चित गर्छ।” सन्धि हेली र बेलायती विदेश सचिव डेविड लाम्मीको हालको अष्ट्रेलिया भ्रमणका क्रममा हस्ताक्षर हुने बताइएको छ।
विदेश सचिव लाम्मीका अनुसार, “नयाँ द्विपक्षीय AUKUS सन्धिले स्वतन्त्र र खुला हिन्द-प्रशान्त क्षेत्रको सुरक्षा सुनिश्चित गर्नुका साथै दुवै देशको आर्थिक वृद्धि सँगसँगै अगाडि बढाउने लक्ष्य बोकेको छ।”
यो सन्धि त्यस्तो समय ल्याइँदैछ, जब अमेरिकी राजनीतिक वृत्तमा AUKUS को भविष्यलाई लिएर विभिन्न धारणा देखा परिरहेका छन्। हिजोमात्रै अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनले वाशिङ्टन डि.सी. मा अमेरिकी कांग्रेसमा उपस्थित भई AUKUS को महत्वबारे जोड दिएका थिए।
यता, अमेरिकी रक्षा उपसचिव एल्ब्रिज कोल्बी, जो AUKUS समीक्षाको नेतृत्व गरिरहेका छन्, यस गठबन्धनप्रति अघिल्लो समयदेखि नै शंका व्यक्त गर्दै आएका छन्।
तर अष्ट्रेलियाका उपप्रधान तथा रक्षा मन्त्री रिचार्ड मार्लेसका अनुसार, विश्वको हालको अस्थिर भू-राजनीतिक अवस्थाले मित्र राष्ट्रहरूबीच सहकार्य र सम्बन्ध सुदृढ गर्न आवश्यक बनाएको छ।
उनले भने, “हामी यस्तो समयमा बाँचेका छौं, जहाँ हिन्द-प्रशान्तदेखि लिएर उत्तर एटलान्टिकसम्म ठूला शक्तिहरूबीचको प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। युक्रेन र मध्यपूर्वमा जारी द्वन्द्वले अझै स्पष्ट बनाएको छ कि घनिष्ठ द्विपक्षीय सम्बन्ध र सहकार्य अहिलेको आवश्यकता हो।”
उनका अनुसार, “अब अष्ट्रेलिया–बेलायत सम्बन्ध विश्वमै सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धहरूमध्ये एक बनेको छ।”
AUKUS सन्धिमा बल दिँदै गरिएको यो प्रयासले हिन्द-प्रशान्त क्षेत्रमा शक्ति सन्तुलन कायम गर्न र मित्र राष्ट्रबीचको समन्वयलाई दीर्घकालीन बनाउने अपेक्षा गरिएको छ।





