
मेलबर्न, अष्ट्रेलिया —
गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको बहुप्रतीक्षित निर्वाचन शनिबार, २६ जुलाई विहानदेखि सुरु हुँदैछ। यसपटकको निर्वाचन पूर्णरूपमा अनलाइन माध्यमबाट हुनेछ, जसअनुसार मतदाताहरूले आफ्नो मोबाइल प्रयोग गरी घरबाटै मतदान गर्न सक्नेछन्।
हाल सामाजिक सञ्जालमा उम्मेदवारहरूका प्रचार सामग्री—फोटो, भिडियो र पोष्टरहरू व्यापक रूपमा देखिन थालेका छन्। अष्ट्रेलियास्थित नेपाली मिडियाहरूले पनि आफ्नो क्षमताअनुसार निर्वाचन कभरेज जारी राखेका छन्।
सामान्यतः कुनै पनि निर्वाचनमा मतदातालाई निर्णय लिन सहज होस् भनेर चुनावको एक दिनअगाडि ‘मौन अवधि’ प्रदान गरिन्छ। यद्यपि, सामाजिक संस्थाको चुनाव भएकाले औपचारिक आचारसंहिताको प्रावधान नभए पनि नैतिक रूपमा मौन अवधिको पालना गर्नु संस्थाको मर्यादा र विश्वसनीयता बढाउने विषय हो। यसपटक उम्मेदवारहरूले पनि मतदातालाई स्वतन्त्र निर्णय लिने समय दिई यो सर्वमान्य सिद्धान्तको सम्मान गर्ने अपेक्षा गरिएको छ।
निर्वाचनको तयारीबारे एनआरएन अष्ट्रेलियाका प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालसँग अव्युक्त मिडियाले कुराकानी गर्दा उनले सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए। उनका अनुसार, चुनावका दिन सबै राज्यहरूमा रहेका निर्वाचन आयुक्तहरू र आईटी विज्ञहरू तयारी अवस्थामा रहनेछन्। साथै, चुनावका लागि ‘अपरेशन सेन्टर’ पनि निर्माण गरिएको छ, तर सुरक्षा कारणवश यसको विवरण गोप्य राखिएको छ।
ढकालले उम्मेदवारहरूलाई आचारसंहिता पठाइसकिएको बताए। उनले भने, “यस निर्वाचनलाई जीत–हारको प्रतिस्पर्धा होइन, समाजसेवामा कोही नेतृत्वमा र कोही सहयोगी भूमिकामा रहने सकारात्मक प्रक्रिया रूपमा लिनुपर्छ।”
उनले थपे, “निर्वाचनलाई नेपाली समुदायको साझा उत्सवका रूपमा मनाऔं। कुनै समस्या आए त्यसको समाधानका लागि हाम्रो टोली पूर्ण रूपमा तयार हुनेछ।”
शनिबार हुने यस अनलाइन निर्वाचनले प्रविधिमैत्री अभ्यासमार्फत एनआरएन अष्ट्रेलियामा लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।






