सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय तहमा जारी विवाद समाधान नहुँदै अष्ट्रेलियामा नयाँ संस्था ‘NRNA Australia’ को औपचारिक घोषणा गरिएको छ। २०२५ जुलाई १८ मा अष्ट्रेलियाको सरकारी निकायमा कानुनी रूपमा दर्ता भएको यो संस्थाको संयोजकको जिम्मेवारी विवेक थापाले सम्हालेका छन्।
थापा अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) अन्तर्गत महेश श्रेष्ठ नेतृत्वको एनआरएनए टोलीबाट अष्ट्रेलियामा ‘एकता अधिवेशन’ गराउने जिम्मेवारी पाएका थिए। तर, उनले राखेका आधारभूत मागहरू — सदस्यता वितरणको छुट्टै पोर्टल, पारदर्शी प्रक्रिया, र कार्यगत समझदारी — नपुगेको भन्दै नयाँ संस्था स्थापना गर्नुपरेको बताएका छन्।
नवगठित संस्थाको नाम ‘Non Resident Nepali Association (NRNA) Australia’ राखिएको छ, जुन अघिल्लो एनआरएनए अष्ट्रेलियाको नामसँग हुबहु मिल्दो छ। यद्यपि, यसमा ‘NRNA’ शब्दलाई कोष्ठभित्र राखेर कानुनी रूपमा अलग पहिचान दिलाइएको छ।
३५ जना तदर्थ सदस्य र ८ जना सल्लाहकारसहित गठन भएको संस्थाले आफ्नै अनलाइन पोर्टलमार्फत सदस्यता खुला गरिसकेको छ। सदस्यता शुल्क १५ अष्ट्रेलियन डलर निर्धारण गरिएको छ।

नयाँ संस्था गठन हुनुको पृष्ठभूमिमा एनआरएनए अन्तर्राष्ट्रिय तहको विवाद मुख्य कारण मानिएको छ। केही महिनाअघि शेष घलेको संयोजकत्वमा आयोजित ‘एकता महाधिवेशन’बाट महेश श्रेष्ठ अन्तर्राष्ट्रिय अध्यक्ष चुनिएका थिए। तर, डा. बद्री केसी नेतृत्वको अर्काे पक्षले उक्त अधिवेशनलाई अस्वीकार गर्दै अक्टोबरमा छुट्टै अधिवेशन गर्ने घोषणा गरिसकेको छ। यो नेतृत्व विवाद हाल नेपालको सर्वोच्च अदालतमा विचाराधीन छ।
यही विवादको सन्दर्भमा विवेक थापालाई अष्ट्रेलियामा एकता सम्मेलनको जिम्मेवारी दिइएको थियो। तर, मागहरू सम्बोधन नभएपछि थापाले नयाँ संस्था अगाडि सारेका हुन्।
यसबीच, अष्ट्रेलियामा पुरानो एनआरएनए (NRNA Australia) पनि सक्रिय छ। अनिल पोखरेल संयोजक रहेको टिमले जुलाई २६ का लागि निर्वाचनको मिति तोकेको छ र आवश्यक तयारीसमेत पूरा भइसकेको जनाइएको छ।
यी दुई संस्थाले एउटै नाम राखेपनि उद्देश्य, प्रक्रिया र संरचनामा उल्लेख्य फरक देखिन्छ। एकातर्फ महेश श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय टोलीले विवेक थापाको संयोजकत्वमा नयाँ संस्था अगाडि सारेको छ भने अर्कातर्फ डा. बद्री केसी पक्षधर एनआरएनएले पुरानै संरचना अनुसार कार्य अगाडि बढाइरहेको छ।
यो अवस्थाले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई अन्योलमा पारेको छ। संस्थागत दोहोरोपन, नेतृत्व विवाद र सदस्यताको अव्यवस्थित व्यवस्थापनले एनआरएनएप्रति समुदायको विश्वासमा असर परेको देखिन्छ।
अबको मुख्य प्रश्न भनेको — अष्ट्रेलियाली नेपाली समुदाय कुन संस्था तर्फ अग्रसर हुन्छ? एकता सम्भव हुन्छ कि एनआरएनए अष्ट्रेलिया दुई धारमा विभाजित रहन्छ? यो घटनाक्रमले स्पष्ट देखाउँछ कि एनआरएनए अष्ट्रेलियाले संस्थागत एकता, वैधानिकता र पारदर्शिताको यात्रामा अझै धेरै चुनौतीहरू पार गर्न बाँकी छ।





