
काठमाडौं, ३१ असार — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अत्याधुनिक हतियार सहयोग नाटोमार्फत् उपलब्ध गराउने र त्यसको सम्पूर्ण खर्च नाटोले नै व्यहोर्ने स्पष्ट घोषणा गरेका छन्। उनको यो कदमलाई अमेरिकी रक्षा नीतिमा आएको नयाँ मोडका रूपमा हेरिएको छ।
ट्रम्पले हालै आयोजित पत्रकार सम्मेलनमा भने, “हामी अब युक्रेनलाई सिधै हतियार दिँदैनौं। हामी नाटोलाई दिनेछौं र नाटोले ती हतियार युक्रेनलाई उपलब्ध गराउनेछ। त्यसको सम्पूर्ण खर्च नाटोले नै बेहोर्नेछ।”
३० करोड डलर बराबरको सहायता प्याकेज
मिडिया रिपोर्टहरू अनुसार अमेरिकाले युक्रेनका लागि ३० करोड अमेरिकी डलर बराबरको नयाँ सैन्य सहायता प्याकेज तयार पारेको छ। यसमा प्याट्रियट मिसाइल प्रणाली र मध्यम दूरीका रकेटहरू समावेश हुने जनाइएको छ। यद्यपि, केही हतियारसम्बन्धी निर्णयहरू अझै बाँकी रहेको बताइएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले प्रेसिडेन्सियल ड्रडाउन अथोरिटी अन्तर्गत हतियार पठाउने अनुमति दिएका छन्। यो एउटा विशेष कानुनी प्रक्रिया हो, जसअनुसार राष्ट्रपति आपतकालीन अवस्थामा अमेरिकी भण्डारणबाट सिधै हतियार पठाउन सक्ने अधिकार प्रयोग गर्न सक्छन्।
ट्रम्प नेतृत्वको वर्तमान सरकारका अनुसार यसअघि स्वीकृत भएका पूर्वराष्ट्रपति जो बाइडनका योजनामा आधारित हतियारहरू मात्र युक्रेनलाई दिइएको थियो। तर अबदेखि उक्त प्रक्रिया नाटोमार्फत् हुनेछ।
पुटिनप्रति ट्रम्पको असन्तुष्टि, कूटनीतिक वार्ता असफल
अमेरिकी राष्ट्रपति ट्रम्पले यो कदम रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति बढ्दो असन्तुष्टिपछि उठाएको बीबीसीले जनाएको छ। जुलाई ७ मा ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार भेटघाटमा पुटिनका हालका गतिविधिबाट आफू सन्तुष्ट नरहेको बताएका थिए।
उनले भनेका थिए, “पुटिनले आफ्ना सैन्य गतिविधिहरू नरोक्दा म साँच्चै सन्तुष्ट छैन।” ट्रम्पले युद्धविरामका लागि संवाद सुरु गरे पनि पुटिनले त्यसलाई अस्वीकार गरेको जनाइएको छ।

रूसको आक्रोश : ४ सय ड्रोन र १८ मिसाइल आक्रमण
अमेरिकाबाट हतियार आपूर्तिको सूचना बाहिरिएपछि रुष्ट बनेको रुसले युक्रेनको राजधानी कीभमा व्यापक हवाई आक्रमण गरेको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार, रुसले ४ सयभन्दा बढी ड्रोन र १८ मिसाइल प्रहार गरेको हो। यस आक्रमणमा २ जनाको मृत्यु र १६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार, कीभमा आवासीय भवन, सवारीसाधन, कार्यालय र गोदाममा क्षति पुगेको छ। गोदाममा लागेको आगोबाट पूरै शहर उज्यालो देखिएको थियो। एक मेट्रो स्टेशनमा ६८ वर्षीया महिला र २२ वर्षीय प्रहरीको मृत्यु भएको पुष्टि गरिएको छ।
युक्रेन पुनर्निर्माणका लागि १० अर्ब युरो सहायता
युक्रेनको पुनर्निर्माणका लागि इटालीको रोममा जुलाई १०–११ मा आयोजित सम्मेलनले युक्रेनलाई १० अर्ब युरो (९० हजार करोड रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने निर्णय गरेको छ। सम्मेलनमा ३८ देश र थुप्रै अन्तर्राष्ट्रिय संस्था सहभागी थिए।
युरोपियन आयोगले समेत २.३ अर्ब युरो (२.७ अर्ब अमेरिकी डलर) को अतिरिक्त सहायता घोषणा गरेको छ। सम्मेलनमा सहभागी युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुसका जफत गरिएका सम्पत्ति युक्रेन पुनर्निर्माणमा प्रयोग गर्नुपर्ने माग राखेका थिए।
कूटनीतिक संवाद : रुबियो र लावरोभबीच वार्ता
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लावरोभबीच मलेसियामा ५० मिनेट लामो वार्ता भएको छ। वार्तामा रुबियोले रुसलाई युद्ध अन्त्य गर्न स्पष्ट आग्रह गरेका थिए, अन्यथा थप प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका छन्।
रुबियोले भने, “अब यो द्वन्द्व अन्त्यका लागि तयारी गर्न आवश्यक छ, अन्यथा ट्रम्प प्रशासन अमेरिकी सिनेटसँग मिलेर रुसमाथि थप कडा प्रतिबन्ध लगाउने तयारीमा जुट्नेछ।”





