वेस्ट कोस्टका खेलाडी ज्याक ग्राहम चार खेलका लागि प्रतिबन्धित

spot_img

अष्ट्रेलियन फुटबल लिग (AFL) ले वेस्ट कोस्ट क्लबका खेलाडी ज्याक ग्राहममाथि समलैङ्गिकता विरोधी अपमानजनक टिप्पणी गरेको पुष्टि भएपछि चार खेलको प्रतिबन्ध लगाएको छ। यो निर्णय AFL ले आफ्नो नीति अनुरूप विभेद र अपमानजनक व्यवहार विरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धताको रूपमा लिएको हो।

गत शुक्रबार पर्थमा वेस्ट कोस्ट र ग्रेटर वेस्टर्न सिड्नी (GWS) बीच भएको खेलका क्रममा ग्राहमले प्रयोग गरेको शब्दलाई AFL ले “अत्यन्त आपत्तिजनक, घातक र पूर्ण रूपमा अस्वीकार्य” ठहर गरेको छ।

प्राप्त जानकारी अनुसार, घटनापछि ग्राहमले आफैं क्लब व्यवस्थापनलाई जानकारी दिएका थिए। त्यसपछि वेस्ट कोस्ट क्लबले घटनाबारे AFL लाई औपचारिक रूपमा जानकारी गराएको थियो, जसपश्चात AFL को इन्क्वायरी युनिट ले घटनाको अनुसन्धान प्रारम्भ गरेको हो।

AFL का इन्ग्रिटी एण्ड सेक्युरिटी प्रमुख टोनी किन ले विज्ञप्तिमा भनेका छन्, “ज्याक ग्राहमले प्रयोग गरेको भाषा कुनै पनि परिस्थिति वा वातावरणमा स्वीकार्य हुँदैन। यस्तो व्यवहार खेलमैत्री समुदाय निर्माणको मूल्यविपरीत छ।”

किनले स्पष्ट पारे अनुसार, ग्राहकले आफ्नो गल्ती स्वीकार गरी स्वयं रिपोर्ट गरेको कारणले प्रतिबन्धको अवधि घटाइएको हो। यदि उनले घटनाबारे आफैं जानकारी गराएका थिएनन् भने थप कडा कारबाही हुने उल्लेख गरिएको छ।

Advertisement

घटनापछि ग्राहमले वेस्ट कोस्ट क्लबमार्फत सार्वजनिक माफीनामा जारी गरेका छन्। उक्त माफीनामामा उनले भनेका छन्,
“मैले प्रयोग गरेको शब्दको लागि म गहिरो रूपमा पश्चाताप व्यक्त गर्दछु। यस्तो भाषा हाम्रो समुदाय वा खेलकुद क्षेत्रमा स्वीकार्य छैन। म GWS खेलाडी र क्लबसँग हार्दिक माफि माग्न चाहन्छु। मेरो भनाइ मेरो व्यक्तिगत मूल्य वा हाम्रो क्लबको मूल्य प्रतिनिधित्व गर्दैन। म सुधार गर्न प्रतिबद्ध छु र त्यो मेरो आगामी कार्यद्वारा देखाउनेछु।”

AFL ले पनि यस घटनालाई समग्र खेल क्षेत्रभित्र सुधारको अवसरका रूपमा लिएको छ। AFL र AFLW खेलाडी तथा अधिकारीहरूलाई हरेक वर्ष विभेद विरोधी तालिम दिइने प्रचलन रहेको र आगामी दिनमा यो कार्यक्रमलाई अझ सशक्त बनाइने समेत जानकारी दिइएको छ।

ज्याक ग्राहमले यसअघि रिचमण्ड क्लबबाट १३१ खेल खेलेका थिए। पछिल्लो सिजनको अन्त्यपछि उनी वेस्ट कोस्ट क्लबमा ट्रान्सफर भएका थिए।

आगामी आइतबार वेस्ट कोस्ट क्लब पोर्ट एडिलेडसँग एडिलेड ओभलमा भिड्ने कार्यक्रम रहेको छ। तर, प्रतिबन्धको कारण ग्राहम खेलमा सहभागी हुन नपाउने पुष्टि गरिएको छ।

AFL को यो कारबाहीलाई खेलकुद क्षेत्रभित्र समानता, समावेशीता र अनुशासनको पक्षमा सकारात्मक कदमको रूपमा हेरिएको छ। AFL ले पुनः एकपटक स्पष्ट पारेको छ कि समलैङ्गिकताविरोधी टिप्पणी वा कुनै पनि प्रकारको विभेदकारी व्यवहारको खेलमा कुनै स्थान छैन।

spot_img