मेलबर्नको चाइल्डकेयर केन्द्रमा बाल यौन दुव्र्यवहारको आरोप, पूर्वकर्मचारीमाथि ७० अभियोग

spot_img

मेलबर्न, अष्ट्रेलिया — मेलबर्नस्थित प्वाइन्ट कुकको क्रिएटिभ गार्डेन्स अर्ली लर्निङ सेन्टर मा कार्यरत पूर्वकर्मचारीमाथि बाल यौन दुव्र्यवहारको गम्भीर आरोप लागेपछि प्रहरीको उपस्थिति बढाइएको छ।

२६ वर्षीय जोशुआ ब्राउनमाथि २०२२ को अप्रिलदेखि २०२३ को जनवरीसम्म आठ जना बालबालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा ७० वटा अभियोग लगाइएको प्रहरीले जनाएको छ। उनी २०२३ को मे महिनामा प्वाइन्ट कुकस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए।

घटनापछि भिक्टोरियाकी प्रमुख मन्त्री जसिन्ता एलनले चाइल्डकेयर सुरक्षासम्बन्धी आपतकालीन समीक्षा घोषणा गर्दै यस क्षेत्रमा तत्काल सुधार ल्याउने प्रतिबद्धता जनाएकी छन्।

“म संघीय वा अन्य राज्यहरूको सहमतिका लागि कुर्नेछैन। अभिभावकहरू कुर्न सक्दैनन्,” एलनले भनिन्। भिक्टोरियाले अब सबै प्रारम्भिक शिक्षा केन्द्रहरूमा व्यक्तिगत उपकरण (जस्तै: मोबाइल फोन) को प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो नीति २०२५ सेप्टेम्बर २६ देखि लागू हुनेछ, उल्लंघन गर्नेलाई ५० हजार डलरसम्म जरिवाना हुनसक्नेछ।

त्यसैगरी, राज्य सरकारले सबै चाइल्डकेयर कामदारहरूका लागि राज्यस्तरीय दर्ता प्रणाली सञ्चालन गर्ने जनाएको छ। हालसम्म यो व्यवस्था निःशुल्क ‘किन्दर’ कार्यक्रमअन्तर्गत सीमित थियो, अब भने सबै बालबालिका स्याहार केन्द्रका कर्मचारी यसमा सूचीकृत हुनेछन्।

उक्त घटनामा प्रत्यक्ष संलग्न नभएका अभिभावकहरूमा पनि आक्रोश देखिएको छ। एक अभिभावक ड्यानियल भ्यान डेर स्यान्ड्टले भने, “सबैले एउटै प्रश्न गरिरहेका छन् — यस्तो कसरी हुन सक्यो?” अर्की अभिभावक जो चिडवालाले भनिन्, “जब तपाईं आफ्नो बच्चालाई डे केयरमा पठाउनुहुन्छ, त्यो सबैभन्दा सुरक्षित स्थान हो भन्ने विश्वास हुन्छ। यस्तो खबर सुन्दा एकदमै घृणा महसुस भयो।”

ब्राउन आफ्नी पार्टनरसँग प्वाइन्ट कुकमै बस्दै आएका थिए। छिमेकी डाई न्युगुएनले उनलाई “शान्त र राम्रो व्यवहार गर्ने व्यक्ति” का रूपमा चिनाउँदै घटनापछि प्रहरी टोली देखिएपछि मात्रै आफूले घटनाको जानकारी पाएको बताएका छन्।

प्रहरी अनुसन्धान जारी रहेको छ। राज्य सरकारले बाल सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै चाइल्डकेयर क्षेत्रमा व्यापक सुधारको योजना अघि बढाएको जनाएको छ।

Advertisement