
क्यानबेरा — टोरेस स्ट्रेट आईल्याण्डर झण्डालाई अष्ट्रेलियाको राष्ट्रिय झण्डाका रूपमा आधिकारिक मान्यता दिइएको ३० वर्ष पूरा भएको अवसरमा रॉयल अष्ट्रेलियन मिन्टले दुई डलरको विशेष सिक्का सार्वजनिक गरेको छ।
झण्डा सन् १९९२ मा बर्नार्ड नामोले डिजाइन गरेका थिए, जसमा समुद्री चट्टान, परम्परागत माछा समाउने जाल, थुनजस्ता सांस्कृतिक प्रतीक समेटिएका छन्। यिनै प्रतीकहरू सिक्काको डिजाइनमा पनि समावेश गरिएको छ।
मिन्टका अनुसार सिक्कामा प्रयोग गरिएका प्रतीकहरू “भूमि, समुद्र, मानिस, संस्कृति र एकता” को गहिरो अर्थलाई प्रतिबिम्बित गर्छन्। सिक्काको डिजाइन मिन्टकी कलाकार एलिसा वाटरफोर्डद्वारा तयार पारिएको हो भने एरुब (डार्न्ली) द्वीपकी कलाकार लाविनिया केटचेलको कलालाई पनि समेटिएको छ।
सिक्कामा प्रयोग भएको नीलो रङ समुद्र, हरियो रङ भूमि, र कालो रङ टोरेस स्ट्रेट आईल्याण्डर समुदायको पहिचान जनाउँछ।
रॉयल अष्ट्रेलियन मिन्टकी कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एमिली मार्टिनले उक्त सिक्का “संस्कृति, पहिचान र सहनशीलताको सम्मान स्वरूप” रहेको बताउँदै यो सिक्का टोरेस स्ट्रेट आईल्याण्डर समुदायको “आत्मबल र गौरवको प्रतीक” भएको उल्लेख गर्नुभयो।
टोरेस स्ट्रेट आईल्याण्ड क्षेत्रीय परिषद्का मेयर क्र. फिलेमन मोस्बीले भने, “यो सिक्का केवल मुद्रा होइन, हाम्रो सांस्कृतिक समृद्धि र योगदानको राष्ट्रिय स्वीकारोक्ति हो। झण्डा यसरी ऐतिहासिक रूपमा सिक्कामा उतारिनु सम्पूर्ण टोरेस स्ट्रेट आईल्याण्डरहरूका लागि गर्वको विषय हो।”
यो सिक्का चलनचल्तीमा नरहने र संग्रहकर्ताहरूका लागि दुई संस्करणमा उपलब्ध हुनेछ — कार्डमा एल्युमिनियम ब्राञ्ज संस्करण र प्रस्तुति बाकससहितको शुद्ध चाँदीको संस्करण।
