अमेरिकाको इडाहोमा भीषण गोलीकाण्ड: आगो लगाएर दुई दमकलकर्मीको हत्या, एक गम्भीर घाइते

spot_img

वासिङ्टन — अमेरिकी राज्य इडाहोको पर्वतीय क्षेत्र क्यानफिल्ड माउन्टेनमा एक बन्दुकधारीले जानीजानी आगो लगाएर त्यसपछि उद्धारकर्मीहरूलाई लक्षित गर्दै गोली चलाउँदा दुई दमकलकर्मीको ज्यान गएको छ भने एक गम्भीर घाइते भएका छन्। घटनास्थलनजिकै आक्रमणकारीको शव पनि फेला परेको प्रहरीले जनाएको छ।

कोटनाई काउन्टीका शेरिफ बब नोरिसका अनुसार उक्त घटना योजनाबद्ध रूपमा गरिएको थियो। “हामीलाई विश्वास छ कि आक्रमणकारीले नै आगो लगाएको हो र उद्धारकर्मीहरूलाई लक्षित गर्दै घेराबन्दीमा पारी आक्रमण गरेको हो,” उनले आइतबार राति आयोजित पत्रकार सम्मेलनमा बताएका हुन्। “यी दमकलकर्मीहरूलाई बच्ने कुनै मौका नै थिएन।”

घटना आइतबार दिउँसो करिब १:३० बजे क्यानफिल्ड माउन्टेन क्षेत्रमा आगलागीको सूचना आएपछि सुरक्षाकर्मी र दमकल टोली घटनास्थलमा पुगेका थिए। केही समयपछि गोली चलेको रिपोर्ट आएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, आक्रमणकारी एक्लै थिए।

घाइते तीन जनालाई उपचारका लागि कोटनाई हेल्थ अस्पताल पुर्‍याइएको थियो। अस्पतालका अनुसार, दुई जना घटनास्थलमै मृत भेटिए भने तेस्रो घाइतेको शल्यक्रिया गरिएको छ र अहिले उनीको अवस्था स्थिर छ।

उक्त क्षेत्रमा उद्धारकर्मीहरूले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका बेला एकाएक तीव्र गोलीबारी सुरु भएको थियो, जसले घटनास्थलमा हडबडीपूर्ण स्थिति सिर्जना गराएको थियो। एफबीआईको प्रविधिक टोलीले घटनास्थलमा पुगेर अनुसन्धानमा सघाएको छ।

स्थानीय प्रशासनले क्यानफिल्ड माउन्टेन ट्रेलहेड र नेट्लटन गल्च रोड आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। यद्यपि, अहिलेको लागि ‘shelter-in-place’ आदेश हटाइएको छ तर आगलागीको खतरा कायमै रहेको जनाइएको छ।

इडाहोका गभर्नर ब्राड लिटिलले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत लेखेका छन्, “यो हाम्रा बहादुर दमकलकर्मीमाथिको जघन्य आक्रमण हो। पीडित परिवार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”

आक्रमणकारीको नाम हालसम्म सार्वजनिक गरिएको छैन। क्यानफिल्ड माउन्टेन क्षेत्र वनडढेलोको जोखिम रहने, हाइकिङ तथा साइकलिङको लागि लोकप्रिय स्थान हो। घटनापछि त्यहाँका बासिन्दा अझै पनि सुरक्षाजन्य चिन्तामा छन्। घटनाको थप अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन्।

spot_img