वारेन बफेटद्वारा पाँच संस्थालाई ६ अर्ब अमेरिकी डलर बराबरको शेयर दान

Advertisement

विश्व प्रसिद्ध अर्बपति तथा लगानीकर्ता वारेन बफेटले आफ्नो कम्पनी बर्कशायर ह्याथवे इन्कका ६ अर्ब अमेरिकी डलर बराबरका शेयर पाँचवटा गैरनाफामुखी संस्थालाई दान गर्ने घोषणा गरेका छन्। उनले यो घोषणा गत शुक्रबार गरेका हुन्, जुन सोमबारबाट कार्यान्वयनमा जानेछ।

बफेटले यसपटक बर्कशायर ह्याथवे कम्पनीका १२.४ मिलियन क्लास बी शेयर दान गर्न लागेका हुन्, जसको मूल्य प्रति शेयर ४८५.६८ अमेरिकी डलर रहेको छ। यी शेयरहरू पाँचवटा प्रतिष्ठित संस्थालाई प्रदान गरिनेछ।

सबैभन्दा ठूलो अंश बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन ट्रस्टलाई दिइनेछ, जसले कुल ९४ लाख शेयर प्राप्त गर्नेछ। यसबाहेक, सुसान थम्पसन बफेट फाउन्डेसनलाई ९,४३,३८४ शेयर, र शेरवुड फाउन्डेसन, हावर्ड जी बफेट फाउन्डेसन, तथा नोभो फाउन्डेसनले समानरूपमा ९,४३,३८४ शेयर प्राप्त गर्नेछन्।

बफेट सन् २००६ यता सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय रहँदै आएका छन् र हालसम्म यी संस्थाहरूलाई झण्डै ६० अर्ब अमेरिकी डलर बराबरको शेयर दान गरिसकेका छन्। बर्कशायर ह्याथवेको स्वामित्वमा गेसियो, ड्यारी क्विन, बीएनएन रेलवेजलगायत थुप्रै ठूला कम्पनीहरू छन्।

यो दानलाई विश्वकै सबैभन्दा ठूलो परोपकारी योगदानहरूमध्ये एक मानिएको छ। बफेटको निरन्तर सहयोगले शिक्षा, स्वास्थ्य, गरीबी निवारणजस्ता क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

spot_img