
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले वरिष्ठ पशु विकास अधिकृत तथा तत्कालीन कार्यालय प्रमुख डा. प्रभात झा, सहलेखापाल अनिल लिम्बु, मोदाक एड्भर्टाइजिङ प्रालिका सञ्चालक कौशलराज सिंह र उक्त कम्पनीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि सार्वजनिक खरिद प्रक्रिया अन्तर्गत ठेक्का सम्बन्धी सूचना लुकाई, प्रचलित कानुनको उल्लंघन गर्दै झुटा बिलका आधारमा रकम भुक्तानी लिएको आरोप छ ।
अख्तियारका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीको भवन निर्माण सम्बन्धी बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (१) अनुसार राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो । तर, उनीहरूले उक्त सूचना सार्वजनिक रूपमा प्रकाशित नगरी, केवल सौर्य राष्ट्रिय दैनिकमा एक प्रति मात्र राखी प्रक्रियागत दस्तावेज तयार गरेका थिए ।
पुन: प्रेस काउन्सिल नेपालले गत जेठ २ गते लेखी पठाएको पत्र अनुसार सो सूचना कुनै पनि राष्ट्रिय पत्रिकामा प्रकाशन नभएको प्रमाणित भएपछि, आयोगले घटनालाई गम्भीर रुपमा लिँदै अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा उनीहरूले मिलेमतोमा झुटा कागजात तयार गरी रु. १,२९,६६७ (एक लाख उनन्तीस हजार छ सय सत्तरस) रुपैयाँ भुक्तानी लिएको देखिएकोले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले स्पष्ट पारेको छ ।
