
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले धान रोपाइँको मुख्य सिजनमा किसानलाई आवश्यक मलखाद्य नदिएर जिउँदै मार्ने काम गरिरहेको आरोप लगाएका छन् ।
गृह जिल्ला रौतहटको कटहरियामा सोमबार सम्पन्न पार्टीको जिल्ला कमिटी विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले भने, “अहिले धान रोपाइँको अत्यन्तै महत्वपूर्ण समय हो । किसानले मलखाद्य र बिउबिजनको जोहो गरिरहेका छन्, तर यो अन्धो सरकार किसानको पीडा देख्नै चाहँदैन । किसानमारा सरकारलाई किसानको आँशुले पोल्नेछ ।”
उनले किसानलाई मलखाद्य र बिउबिजन उपलब्ध गराउने जिम्मेवारी संघीय सरकारको भएको स्मरण गराउँदै सरकार केवल गफमै सीमित रहेको र व्यवहारमा केही गर्न नसकेको टिप्पणी गरे । साहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गर्दै भने, “किसानलाई मल उपलब्ध गराउन किन असफल हुनु भयो ?”
अध्यक्ष साहले भारतबाट किसानले केही बोरामात्र मल ल्याउँदा पनि सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले पक्राउ गरेर अपमानजनक व्यवहार गरिरहेको गुनासो गरे । उनले जनताको समस्या र भावना बुझ्न असफल भएको वर्तमान सरकार पूर्णत: असफल भइसकेको दाबी गरे ।

“बिचौलियाले बनाएको गठबन्धन र उनीहरुकै हितमा काम गरिरहेको सरकारका कारण किसान र सर्वसाधारण निराश छन् । सरकारलाई किसानको चासोमा सोच्ने फुर्सत छैन,” उनले भने ।
अध्यक्ष साहले लुटतन्त्रविरुद्ध न्यायप्रेमी जनता र दलहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै, “बिचौलिया र भगौडा वर्गको पक्षपोषण गर्ने सरकारद्वारा दलिय सिण्डिकेट चलाएर लुट मच्चाइएको छ । अब पनि एकजुट भएर विरोध नगरे मुलुक नै धरासायी बन्छ,” चेतावनी दिए ।
बैठकले संगठन निर्माण र विस्तारसँगै किसानलाई मलखाद्य र बिउबिजन उपलब्ध गराउन संघर्ष गर्ने निर्णय समेत गरेको आजपा रौतहट इन्चार्ज धर्मेन्द्र पटेलले जानकारी दिए। बैठकमा आजपा कार्यालय सदस्यहरू समिना हुसैन, त्रिभुवन साह, सियाराम कुशवाहा, उमेश कुशवाहा, विजय यादव निर्विज लगायत नेताहरूको सहभागिता रहेको थियो ।
