मेलबर्न नेप्लिज कम्युनिटी वेष्ट (MNC West) को हालै सम्पन्न वार्षिक साधारण सभाले बिक्रम शर्माको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। नयाँ समितिमा प्रकाश तिमिल्सिना बरिष्ठ उपाध्यक्ष, पुस्कर पान्डे उपाध्यक्ष, बिबेक लुइंटेल सचिब, दीपा आचार्य कोषाध्यक्ष रहेका छन्। यस्तै, समितिका सदस्यहरूमा दीपेन्द्र खड्का, कुमार तामाङ, राजेश जैसवाल, तिलक सापकोटा, अनिल केसी र जीवन बिस्ट चयन भएका छन्।साधारण सभामा संस्थाको विधान परिमार्जनसमेत गरिएको छ। आर्थिक प्रतिवेदन कोषाध्यक्ष तिलक सापकोटाले प्रस्तुत गरे भने, गत वर्षका गतिविधि प्रतिवेदन सहसचिव प्रकाश तिमिल्सिनाले प्रस्तुत गर्दै कार्यक्रम सञ्चालन गरेका थिए।

नवगठित कार्य समितिको पहिलो बैठकले प्रक्रियागत रूपमा समिति विस्तार गरी २१ सदस्यीय बनाउने निर्णय गरेको छ। पूर्व अध्यक्ष मनिषा अर्यालको कार्यकालमा संस्था विशेष सक्रिय रहेको उल्लेख गरिएको छ। अर्यालको नेतृत्वमा अष्ट्रेलियन नेताहरूको सहभागिता सहित आयोजित विभिन्न कार्यक्रमले नेपाली समुदायमा उत्साह थप्नुका साथै संस्थाको आर्थिक स्थिति पनि सुदृढ भएको र त्यही आधारमा नयाँ समितिलाई जिम्मेवारी सुम्पिएको जानकारी दिइएको छ।
निर्वाचन प्रक्रियालाई सहज र निष्पक्ष बनाउन लुम्बिनी/कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ र अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा. तिलक पोखरेल सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो। समितिले सम्पूर्ण प्रक्रिया सम्पन्न गरी नयाँ कार्य समितिको औपचारिक घोषणा गरेको हो।





