एनआरएन अभियानमा नयाँ मोड: अष्ट्रेलियामा ‘NRNA Australia Ltd’ दर्ता

गैरआवासीय नेपाली अभियान (एनआरएनए) मा देखिएको असन्तुलन, असहभागिता र राजनीतिक हस्तक्षेपविरुद्धको आवाजले नयाँ मोड लिएको छ। महेश श्रेष्ठ नेतृत्वको समूहले अष्ट्रेलियामा ‘NRNA Australia Ltd’ नामक वैकल्पिक संस्था स्थापना गरेको छ। अष्ट्रेलियन कम्पनी नियामक निकाय Australian Securities and Investments Commission (ASIC) मा यो संस्था औपचारिक रूपमा दर्ता भइसकेको छ। श्रेष्ठ समूहले जारी गरेको वक्तव्यमा हालको एनआरएनए संरचनामा रहेको अपारदर्शिता, राजनीतिक प्रभाव र निष्क्रिय सहभागिताका कारण नेपाली समुदायमा गहिरिँदो असन्तोषलाई सम्बोधन गर्न नयाँ संस्था गठन गरिएको जनाइएको छ।

“NRNA Australia Ltd” लाई समावेशी, पारदर्शी र उत्तरदायी संस्थाको रूपमा अघि बढाउने दाबी गरिएको छ। यसले प्रवासी नेपाली समुदायको आवाजलाई प्रतिनिधित्व गर्ने, उनीहरूको सरोकारमा आधारित कार्यक्रमहरू सञ्चालन गर्ने र सदस्यता प्रणालीमार्फत समुदायलाई प्रत्यक्षरूपमा जोड्ने योजना बनाएको बताइएको छ।संस्थाले छिट्टै विस्तृत संरचना, सदस्यता प्रक्रिया र भावी कार्यक्रमबारे जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको छ। महेश श्रेष्ठ समूहको यो कदमलाई एनआरएन अभियानमा एउटा वैचारिक विभाजनको संकेत र वैकल्पिक अभ्यासको थालनीका रूपमा हेरिएको छ।एनआरएनए अष्ट्रेलियाको आधिकारिक संस्था बाहिर वैकल्पिक संस्थाको रूपमा उभिएको ‘NRNA Australia Ltd’ ले प्रवासी नेपाली समाजमा नयाँ बहस र धारणा निर्माणको चरण सुरु गरेको छ।

एनआरएन अभियानमा देखिएको यो परिवर्तनलाई समुदायले ‘सुधारको आवाज’ वा ‘विभाजनको संकेत’ भनेर कसरी बुझ्ने भन्ने विषयमा सामाजिक सञ्जाल तथा समुदायभित्र व्यापक बहस सुरु भइसकेको छ।

Advertisement