अस्ट्रेलियामा योग्य रजिस्टर्ड नर्सहरुलाई चिकित्सकको साझेदारीमा सीमित श्रेणीका औषधीहरु प्रिस्क्राइब गर्ने अधिकार दिने

अस्ट्रेलियाली सरकारले योग्य रजिस्टर्ड नर्स (RN) हरुलाई चिकित्सकको साझेदारीमा सीमित श्रेणीका औषधिहरू प्रिस्क्राइब गर्न दिने ऐतिहासिक निर्णय गरेको छ। स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न सरकारले अघि सारेको यो नीति आगामी सेप्टेम्बर महिनादेखि लागू हुने भएको छ ।

यसअघि लामो समयदेखि चलिरहेको बहसमा ‘रोयल अस्ट्रेलियन कलेज अफ जेनरल प्राक्टिसनर’ (RACGP) ले रजिस्टर्ड नर्सहरूलाई औषधि लेख्ने अधिकार दिनु उपयुक्त नहुने तर्क गर्दै आएको थियो। तर सरकारले चिकित्सकको निगरानी, तालिम र मूल्याङ्कनको स्पष्ट प्रक्रिया सुनिश्चित गरेपछि मात्र रोयल अस्ट्रेलियन कलेज अफ जेनरल प्राक्टिसनर’ को सहमति प्राप्त भएको हो। सरकारद्वारा स्वीकृत नयाँ नीतिअनुसार, औषधि प्रिस्क्राइब गर्न चाहने रजिस्टर्ड नर्सले कम्तीमा तीन वर्ष (५००० घन्टा) क्लिनिकल अनुभव हासिल गरेको हुनुपर्नेछ। साथै, NMBA द्वारा मान्यता प्राप्त स्नातकोत्तर डिग्री पूरा गरेपछि AHPRA मा ‘endorsed RN prescriber’ को रूपमा दर्ता गराउनु पर्नेछ।

spot_img

अनुमोदन प्राप्त RN ले स्वतन्त्र प्रिस्क्राइबर (जस्तै चिकित्सक वा Nurse Practitioner) को निगरानीमा कम्तीमा ६ महिना मेन्टरशिप गर्नुपर्नेछ। त्यसपछि उनीहरूको योग्यता नेशनल प्रिस्क्राइबिङ सर्भिस (NPS) को मापदण्ड अनुसार मूल्याङ्कन गरिनेछ। प्रिस्क्राइब गर्न पाइने औषधिहरू सेड्युल २, ३, ४ र ८ मा पर्ने छन्। यिनमा सामान्य फार्मेसी औषधि देखि लिएर नियन्त्रण आवश्यक औषधिहरू पनि समावेश छन्। नर्सहरूले यी औषधिहरू चिकित्सक वा स्वीकृत स्वतन्त्र प्रिस्क्राइबरको साझेदारीमा मात्र लेख्न पाउनेछन्।
नर्सिङ एण्ड मिडवाइफरी बोर्ड अफ अस्ट्रेलिया (NMBA) ले सन् २०१६ देखि RN प्रिस्क्राइबिङ मोडेल विकास गरिरहेको थियो। यो नीति सोही प्रयासको औपचारिक कार्यान्वयन हो, जसले अस्ट्रेलियाको स्वास्थ्य प्रणालीलाई थप लचिलो र समावेशी बनाउने सरकारको विश्वास रहेको छ।
प्रिस्क्राइबिङमा इच्छुक RN हरूलाई NMBA को अद्यावधिक जानकारीमा रहन, स्वीकृत तालिम कार्यक्रममा सहभागी हुन र अनुभवी नर्सहरूसँग परामर्श गर्न सुझाव दिइएको छ।

Advertisement