केही वर्ष शान्त देखिएको कोभिड १९ महामारी पुन: एसियाली मुलुकहरूमा तीव्र गतिमा फैलिन थालेको छ । विशेष गरी सघन जनसंख्या भएको हङकङ र सिङ्गापुरमा कोरोना संक्रमणको नयाँ लहर देखिएसँगै स्वास्थ्य अधिकारीहरू उच्च सतर्क अवस्थामा छन् ।
हङकङको स्वास्थ्य सुरक्षा केन्द्रअन्तर्गत सरुवा रोग शाखाका प्रमुख डा. अल्बर्ट एउका अनुसार, पछिल्लो समय कोभिड संक्रमणको पोजिटिभ केस प्रतिशत गत एक वर्षकै उच्च बिन्दुमा पुगेको छ । मे १३ सम्मको एक हप्ताको अवधिमा ३१ गम्भीर कोभिड केस रिपोर्ट भएका छन्, जुन पछिल्लो एक वर्षको तुलनामा सबैभन्दा बढी हो ।
डा. एउले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै भने, “हाल रिपोर्ट भएका केसहरूको संख्या अघिल्लो दुई वर्षको चरम संक्रमणभन्दा कम भए पनि गम्भीर र मृत्युसम्म पुगेका केसहरूमा उल्लेखनीय वृद्धि भएको छ, जुन चिन्ताजनक छ ।”
स्वास्थ्य केन्द्रको तथ्याङ्क अनुसार, हाल देखिएको संक्रमणका कारण अस्पतालमा भर्ना हुनेहरूको संख्या पनि बढ्दो क्रममा छ । सन् २०२० पछि कोभिड १९ का कारण विश्वभर झन्डै ७० लाख मानिस अस्पताल भर्ना भएका थिए ।
यसैबीच, सिङ्गापुरमा पनि कोभिड १९ का केसहरू उल्लेखनीय रूपमा बढेका छन् । सिंगापुरको स्वास्थ्य मन्त्रालयले मे १३ सम्मको सातामा संक्रमण संख्या २८ प्रतिशतले बढेर अनुमानित १४ हजार २ सय पुगेको जनाएको छ । यो संख्या पछिल्लो एक वर्षमा सर्वाधिक हो ।
सिङ्गापुर सरकारले संक्रमणको अवस्थालाई गम्भीर रूपमा लिँदै उच्च सतर्कता अपनाएको र नागरिकहरूलाई सावधानीपूर्वक रहन अनुरोध गरेको छ । स्वास्थ्य विज्ञहरूका अनुसार, भाइरसको नयाँ रूपहरू र जनजीवनमा सतर्कता कमजोर हुँदै जाँदा संक्रमण दरमा पुन: वृद्धि हुन थालेको हो । यद्यपि, हालको लहर अघिल्लो महामारीका तुलनामा तुलनात्मक रूपमा कम प्रभावकारी देखिएको जनाइएको छ ।






