अस्ट्रेलियाको एज्ड केयर (बृद्वाश्रम सेवा) एक सांस्कृतिक मिश्रणको प्रतिबिम्ब बन्न पुगेको छ। २०२१ को अस्ट्रेलियन जनगणनाअनुसार, यसमा कार्यरत जनशक्तिहरूमध्ये लगभग ५१ प्रतिशत विदेशी मुलुकमा जन्मिएका छन् – जसमा नेपाल, भारत र फिलिपिन्सका कामदारहरू सबैभन्दा अघि देखिन्छन्।
नर्सिङ, केयर वर्कर, क्लिनर, कुक लगायत अन्य भूमिकामा नेपाली समुदायका हजारौं महिला तथा पुरुष कर्मचारीहरू कार्यरत छन्। उनीहरूले अस्ट्रेलियाली वृद्धहरूलाई सेवा प्रदान गर्ने मात्र नभएर यहाँको सामाजिक प्रणालीलाई चलायमान राख्न ठूलो भूमिका खेलेका छन्।
तर यो सांस्कृतिक विविधताले नयाँ बहस पनि ल्याएको छ – कि कार्यस्थलमा अंग्रेजी बाहेक अन्य मातृभाषाको प्रयोग स्वीकार्य छ कि छैन भन्ने प्रश्न उठेको छ।
नर्सिङ स्टेसनमा नेपाली भाषाको प्रयोग हुँदा आफूलाई ‘एक्लोपन’ र ‘बाहिर’ राखिएको महसुस हुने गरेको फेसबुकको Aged Care Worker Support समूहमा सार्वजनिक गरिएका प्रतिक्रियामा केही अस्ट्रेलियन कामदारहरूले बताएका छन्।
मातृभाषामा कुरा गर्दा सजिलो लाग्ने र विशेष गरी उच्च दबाबमा हुने सिफ्टहरूमा गलत बुझाइ कम हुने गरेको यसप्रति नेपाली वा अन्य आप्रवासी कर्मचारीहरूले बताएका छन्।
कतिपयले त अनुमति मागेर आफैँले भाषा परिवर्तन गर्ने गरेका छन्।

अप्ठ्यारो लागेको खण्डमा अंग्रेजीमा कुरा गर्ने र यसबाट सहकार्य र संवेदनशीलताको भावना देखिने नेपाली कर्मचारीहरूले बताएका छन्।
कुरा वृद्ध सेवाको हुँदा भाषा झन् नै महत्वपूर्ण हुन्छ। मानसिक कमजोरी भएका वृद्धहरूलाई अपरिचित भाषा सुन्दा तनाव, डर र मनमा आक्रोश उत्पन्न हुन सक्छ।
त्यसैगरी केही परिवारहरूले Aged Care Commission मा कर्मचारीहरूले वृद्धहरूको कोठामा अंग्रेजी नभई अन्य भाषा प्रयोग गर्नु असम्मानजनक लागेको गुनासो गरेका छन्।
नेपाली समुदायले अस्ट्रेलियाको एज्ड केयर क्षेत्रमा दिएको योगदान अतुलनीय छ।
भाषा र संस्कृति भनेको हाम्रो पहिचानका अभिन्न अंग हुन्।
तर पेशागत क्षेत्रभित्र, विशेष गरी वृद्ध सेवा जस्तो संवेदनशील क्षेत्रमा भाषा प्रयोग गर्ने क्रममा सजगता, संयमता अपनाउनुपर्ने हुन्छ।
भाषा होइन, सेवा दिने भावना र मानसिकताले नै सबैभन्दा ठूलो प्रभाव परिरहेको हुन्छ।
त्यसैले वृद्धको सन्तुष्टि र सहकर्मीबीचको सहकार्यलाई कायम राख्ने हैसियतमा नेपाली समुदायले उदाहरणीय भूमिका खेलिरहन आवश्यक हुन्छ।






