क्यानबेरा :अष्ट्रेलियाली सरकारले सवारी नियम सम्वन्धि नयाँ ट्राफिक नियम पारित गरेको छ । संघीय संसदले हालै पारित गरेको विधेयकअनुसार, नयाँ ट्राफिक नियम पारित गरेको हो ।
आगामी महिनाहरूमा लागू हुने तयारीमा रहेको नयाँ नियमअनुसार,अब गाडी अत्यधिक ढिलो चलाउँदा पनि जरिवाना तिर्नुपर्नेछ । संघीय संसदले हालै पारित गरेको विधेयकअनुसार, यदि चालकले तोकिएको स्पीड लिमिट १० प्रतिशतभन्दा कम गतिमा गाडी चलाएमा उनीहरूलाई जरिवाना गरिनेछ ।
यो नियम विशेष गरी ती स्थानहरूमा लागू गरिनेछ, जहाँ अत्यधिक ढिलो गतिको कारण ट्राफिक अवरोध, दुर्घटना वा सुरक्षा जोखिम बढ्न सक्छ ।यो नियम लागू भएपछि स्पीड क्यामराहरूले अब गाडी ‘बढी’ मात्र होइन ‘कम’ गतिमा हाँकिएको पनि ट्र्याक गर्न सक्नेछन्। नियम २०२५ को अन्त्यतिर लागू हुने अपेक्षा गरिएको छ ।हाल आम सर्वसाधारणलाई यसबारे आफ्ना सुझाव र प्रतिक्रिया दिन सकिने प्रावधान खुला गरिएको छ। सरकारले जनताको धारणा अनुसार नियममा आवश्यक संशोधन गर्न सकिने संकेत दिएको छ।
सडक सुरक्षा विशेषज्ञहरूका अनुसार, केही अवस्थामा आवश्यकता भन्दा ढिलो सवारी सञ्चालनले ट्राफिक फ्लोमा समस्या ल्याउने र दुर्घटनाको सम्भावना समेत बढाउने भएकाले यस्तो नियम ल्याइएको हो।यस निर्णयसँगै अष्ट्रेलियाको ट्राफिक व्यवस्थापन थप स्मार्ट र प्रभावकारी बनाउने दिशामा एक नयाँ अध्याय सुरु हुने विश्वास गरिएको छ।






