सुदूरपश्चिम समाज भिक्टोरियामा नयाँ कार्यसमिति, नेतृत्वमा दीप चन्द

सुदूरपश्चिम समाज भिक्टोरियाले नयाँ कार्यसमिति गठन गर्दै दीप चन्दलाई अध्यक्षमा चयन गरेको छ। मेरन्डास्थित चिली एभरेस्ट रेस्टुरेन्टमा आयोजित एक विशेष समारोहमार्फत समितिको औपचारिक घोषणा गरिनुका साथै भावी योजनाहरू सार्वजनिक गरिएको थियो।

चन्दको नेतृत्वमा चयन गरिएको कार्यसमितिमा केशव पन्त उपाध्यक्ष, बिक्रम कुँवर सचिव, प्रदीप कुँवर कोषाध्यक्षमा चयन भएका छन्। सदस्यहरूमा मुक्ता सिंह, मनोज अधिकारी, विनोद कुँवर, उदय देवकोटा, राशी सिंह ठाकुरी र थानेश्वर भट्ट रहेका छन्।

कार्यक्रममा एनआरएनए भिक्टोरियाका डिपुटी कोर्डिनेटर तथा समाजका पूर्व अध्यक्ष महादेव धानुक, संस्थापक सदस्य सुबास कुँवर, न्याभ अध्यक्ष डा. याकिन्द्र तिमिल्सेना, निवर्तमान अध्यक्ष नरेश रावल, भूपेन्द्र सम्शेरा राणा लगायतको उपस्थिति रहेको थियो।

साँझ साढे ५ बजे सुरु भएको कार्यक्रम राति ९ बजेसम्म जारी रह्यो। सो अवधिमा सांस्कृतिक प्रस्तुति, सामुदायिक छलफल तथा नयाँ कार्ययोजना माथि संवाद भएको थियो।

नवनियुक्त अध्यक्ष दीप चन्दले सम्बोधनका क्रममा समाजमा एकता, सेवा र सहभागिता बढाउने प्रतिबद्धता जनाउँदै सबै पुस्तालाई समेटेर सुदूरपश्चिम समाजलाई अझ सशक्त र समावेशी बनाउने बताए।

कार्यक्रममा बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिक तथा खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै समाजले दीर्घकालीन योजनाहरू सार्वजनिक गरेको छ। साथै, कार्यसमिति अन्तर्गत युवावर्ग, संस्कृति, मिडिया तथा सदस्यता व्यवस्थापनका लागि संयोजक तोकी विभिन्न कार्यदल गठन गरिने घोषणा गरियो।

पूर्व अध्यक्ष नरेश रावलले नेतृत्व हस्तान्तरणलाई उत्सवमय रूपमा स्वागत गर्दै, अघिल्लो कार्यकालका उपलब्धिहरूको समीक्षा गर्दै नयाँ टोलिलाई सफल कार्यकालको शुभकामना दिए।

spot_img