

सन् २०१० मा रसियाको सेन्ट पिटर्सबर्गमा आयोजित बाघ संरक्षण शिखर सम्मेलनमा बाघ पाइने १३ देशले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएका थिए। नेपालमा त्यसबेला बाघको संख्या १२१ थियो। संरक्षण प्रयासको सफल नतिजास्वरूप सन् २०२२ को गणनामा नेपालले बाघ संख्या ३५५ पुर्यायो — जुन प्रतिवद्धता भन्दा निकै माथि हो। तर अहिले बहस उठेको छ — नेपालमा वास्तवमै कति बाघ उपयुक्त हो?
बाघको संख्या वृद्धि: सफलता कि संकट?
बाघको संख्या उल्लेखनीय रूपमा बढे पनि त्यससँगै मानव–वन्यजन्तु द्वन्द्वको अवस्था पनि चर्कंदै गएको छ। चितवन, बर्दिया, शुक्लाफाँटा जस्ता राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र नजिकै मानिसहरूमाथि बाघको आक्रमण तथा चौपाया सिकार गर्ने घटना बढेका छन्। यही सन्दर्भमा गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मान्छे खुवाएर बाघ पाल्न सकिन्न’ भन्ने अभिव्यक्ति दिएका थिए। उनले बाघको संख्या साढे तीन सय होइन, डेढ सय भए पर्याप्त हुने बताएका थिए।
तर संरक्षणविद्हरू यो दृष्टिकोणसँग सहमत छैनन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार हालको आहारा प्रजाति तथा बासस्थानको आधारमा नेपालले कम्तीमा ५०० बाघ व्यवस्थापन गर्न सक्छ।
कुन क्षेत्रमा कति बाघ?
२०२२ को राष्ट्रिय बाघ गणनाअनुसार:
- चितवन: १२८
- बर्दिया: १२५
- पर्सा: ४१
- बाँके: २५
- शुक्लाफाँटा: ३६
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अध्ययनअनुसार चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटामा ३९४ वटा बाघ व्यवस्थापन गर्न सकिने क्षमता छ। करिडोर, मध्यवर्ती क्षेत्र र आसपासका वनसमेत समेट्दा अझै १०० बाघ थप व्यवस्थापन गर्न सकिने देखिन्छ।

द्वन्द्वको मूल कारण के हो?
हालैका अनुसन्धान अनुसार अधिकांश बाघ आक्रमण जंगलमै हुने गरेका छन्। इकोलोजिस्ट आचार्यका अनुसार ७५ प्रतिशत घटना जंगलभित्रै हुने गरेका छन्। मात्र ३–४ प्रतिशत बाघलाई ‘समस्याग्रस्त’ भनिएको छ — जुन बुढा, घाइते, या भर्खर हुर्किएका बाघ हुने सम्भावना हुन्छ।
बाघ विशेषज्ञ डा. बाबुराम लामिछानेका अनुसार बाघले बस्ती पस्नुको मूल कारण बासस्थानको संरचना हो। बाघ जंगलमै रहोस् भन्नका लागि लुक्न सक्ने ठाउँ, घाँसे मैदान र आहारा प्रजातिको सन्तुलन कायम हुन आवश्यक रहेको उनले बताए।

बाघ परिवारको बसोबास व्यवहारमा परिवर्तन?
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक रामका अनुसार बाघको सामाजिक व्यवहारमा परिवर्तन देखिएको छ। एक समयमा एक्लै बस्ने भनिएका बाघहरू अहिले परिवारसहित एउटै क्षेत्रमा बसिरहेको पाइन्छ। १० वर्ग किलोमिटर क्षेत्रमा ६ डमरु, ३ बघिनी र १ बाघ देखिएको उदाहरण उनले दिएका छन्। यस्तो परिवर्तनको गहिरो अध्ययन आवश्यक रहेको उनको भनाइ छ।
बाघ आक्रमण र मृत्युदर
राष्ट्रिय प्रकृति संरक्षण कोषका तथ्यांक अनुसार पछिल्लो ७ वर्षमा बाघको आक्रमणबाट ७५ जनाको मृत्यु भएको छ। सन् २०७८/७९ मा सबैभन्दा धेरै २१ जनाको ज्यान गएको थियो भने ०८१/८२ मा त्यो संख्या ७ मा झरेको छ — जुन सकारात्मक संकेत हो। संरक्षण, बासस्थान व्यवस्थापन, चोरीसिकार नियन्त्रण र भारतसँग वन्यजन्तु कोरिडोर निर्माणले यसमा योगदान दिएको बताइन्छ।
सीमावर्ती क्षेत्र र समस्या
कञ्चनपुर, चाँदनी–दोधारा जस्ता भारतसँग सिमाना जोडिएका क्षेत्रहरूमा भारतको संरक्षित क्षेत्रबाट आउने बाघले पनि बस्तीमा आक्रमण गर्ने घटना भएका छन्। पिलिभित क्षेत्रबाट आएका बाघहरू उखुबारीमा सन्तान हुर्काउने, अनि सिकारका लागि बस्ती पसेर मानिसमाथि आक्रमण गर्ने गरेको शुक्लाफाँटा निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए।
अवसर र भविष्य
संख्या बढेपछि नेपालसँग अवसर पनि बढेको छ। संरक्षणविद्हरूका अनुसार अब बाघ–पर्यटनलाई विकसित गरेर विदेशी खर्चालु पर्यटकहरूलाई लक्षित गर्ने योजना बनाउनुपर्छ। बाघ हेर्न चाहने उच्च वर्गका पर्यटकलाई लक्षित गरेर स्थानीयस्तरमा आय आर्जनका कार्यक्रम र संरचना विस्तार गर्न सकिन्छ।
नेपालले बाघ संरक्षणमा विश्वस्तरमै उदाहरणीय सफलता देखाएको छ। तर अब त्यो सफलता दीगो बनाउन बासस्थान व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, सामुदायिक सहभागिता र वैज्ञानिक अनुसन्धान अपरिहार्य बनेको छ।
बाघको संख्या बढ्नु मात्रै समाधान होइन – दीगो व्यवस्थापन र सहअस्तित्व नै साँचो लक्ष्य हो।
विश्व बाघ दिवसले यही सन्देश दिन्छ – सन्तुलनमै सुरक्षा छ।
