पार्किन्सन रोगको सुरुवात मस्तिष्कमा होइन, मृगौलामा हुने नयाँ अनुसन्धानको दाबी

spot_img

चीनको वुहान विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक क्रान्तिकारी अनुसन्धानले पार्किन्सन रोगबारेको परम्परागत बुझाइलाई चुनौती दिएको छ। लामो समयदेखि यो रोगको सुरुवात मस्तिष्कमै हुने मानिँदै आएको थियो, तर नयाँ अध्ययनले यसको प्रारम्भ मृगौलाबाट हुन सक्ने ठोस संकेत देखाएको छ।

अनुसन्धानका क्रममा वैज्ञानिकहरूले पार्किन्सन रोगका बिरामीहरूको मृगौलाभित्र अल्फाα-Syn)नामक प्रोटिनको अस्वाभाविक थुप्रो पत्ता लगाए। यसै प्रोटिनको असामान्य जमावट मस्तिष्कमा हुँदा स्नायु कोषहरूलाई नोक्सान पुग्ने र तिनको मृत्यु हुने तथ्य विगतदेखि स्थापित छ। तर यो पहिलो पटक हो, जब α-Syn प्रोटिनको ठूलो जमावट मृगौलामा पाइएकाले यसको उत्पत्ति र रोगको फैलावटबारे नयाँ दृष्टिकोण अघि आएको छ।

अध्ययनमा जनावरमाथि गरिएको परीक्षणमा स्वस्थ मृगौलाले यी हानिकारक प्रोटिनहरूलाई प्रभावकारी रूपमा हटाउन सक्ने देखियो। तर, मृगौला कार्य कमजोर वा क्षतिग्रस्त हुँदा α-Syn प्रोटिनहरू शरीरमा फैलिन थाले र अन्ततः मस्तिष्कमा पुगेर स्नायु क्षतिका कारण पार्किन्सनको अवस्था देखा पर्न थाल्यो।

अझ रोचक कुरा के भने, कुनै स्नायु–सम्बन्धी लक्षण नभएका पुराना मृगौला रोग (क्रोनिक किड्नी डिजिज)का बिरामीहरूको मृगौलामा पनि α-Syn प्रोटिनको थुप्रो भेटिएको छ। यसले मृगौलाले यस्ता विषालु प्रोटिनको प्रारम्भिक ‘भण्डार’को रूपमा काम गर्ने र समयक्रममा रगत वा स्नायु मार्ग हुँदै मस्तिष्कसम्म पुग्ने सम्भावना रहेको देखाएको छ।

अनुसन्धान टोलीका अनुसार, यी निष्कर्षहरू प्रारम्भिक चरणका हुन् र सीमित डाटामा आधारित छन्। तर यसले पार्किन्सन रोगबारेको दीर्घकालीन धारणालाई परिवर्तन गर्ने सम्भावना बलियो बनाएको छ। यदि थप अनुसन्धानबाट यस्ता परिणाम पुष्टि भए, भविष्यमा पार्किन्सन रोगको रोकथाम र उपचारमा मृगौला स्वास्थ्यको निगरानी र संरक्षणलाई प्राथमिकतामा राख्न सकिनेछ।

वैज्ञानिकहरूको भनाइमा, प्रारम्भिक चरणमै मृगौलाको अवस्था मूल्याङ्कन गर्न सकिने प्रविधि र उपचार पद्धति विकास भएमा पार्किन्सनको सुरुवात रोक्न वा ढिला पार्न मद्दत मिल्न सक्छ। यस अनुसन्धानले न्युरोलोजी र नेफ्रोलोजी (स्नायु तथा मृगौला विज्ञान) बीचको सम्बन्धबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ, जसले भविष्यमा दुवै क्षेत्रमा उपचारको रणनीति पुनः परिभाषित गर्न सक्ने देखिएको छ।

spot_img