
भरतपुर — चितवनमा अवैधरुपमा सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्र (कन्सल्टेन्सी) बन्द गराउने प्रक्रियामा प्रहरीले ढिलासुस्ती गरेको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले साउन २२ गते ४५ वटा अवैध कन्सल्टेन्सी बन्द गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो।
तर छ दिनको अवधिमा प्रहरीले गोल्डेन गेट, डल्फिन एजुकेसन र डाँफे कन्सल्टेन्सी एजुकेसन एण्ड माइग्रेसन गरी तीनवटा मात्र बन्द गराएको छ। प्रहरीका अनुसार २५ वटा कन्सल्टेन्सी पहिले नै बन्द अवस्थामा फेला परेका छन् भने दुईवटा — जेब्रा एस्याएर प्रिफेक्सन र नेसन्स इन्टरनेसनल पायोनियर इन एजुकेसन एण्ड भिसा सर्भिस — भेटिएका छैनन्। बाँकी १५ वटा भने खुल्लै छाडिएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार ती १५ वटा कन्सल्टेन्सीलाई दर्ता र अनुमति प्रक्रिया पूरा गर्न भनी प्रहरी टोली फर्किएको हो। ‘बन्द अवस्थामा रहेका केही कन्सल्टेन्सीका सञ्चालकलाई फोन गरेर प्रक्रिया पूरा गरेपछि मात्र खोल्न भनेका छौँ,’ उनले भने।
बन्द अवस्थामा भेटिएका कन्सल्टेन्सीमा एजुकेसन एण्ड माइग्रेसन सेन्टर, एजुकेसन एसिया चितवन, एनसिएस कोरिया, एसआई ग्लोबल, एसी ग्लोबल चितवन, कँडेल कन्सल्टेन्सी एजुकेसन, कनेक्ट निहोन, किङफिसर एजुकेसन कन्सल्टेन्सी, क्यानन इन्टरनेसनल एजुकेसन, क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसेज, चिन्जु एजुकेसन, जापान लिङ्क, डिप ब्ल्यु एजुकेसन कन्सल्टेन्सी, डिभाइन एजुकेसन, नमस्ते एजुकेसन इन्स्टिच्युट, निहोन एजुकेसन सेन्टर, नेक्स्ट व, ब्लु ब्रिज एब्रोड एजुकेसन, युटिसी (युनिभर्सल थट कन्सल्ट), रियल वल्र्ड एजुकेसन माइग्रेसन, ल्यान्डमार्क एजुकेसन, सुहिसा एजुकेसन कन्सल्टेन्सी, सफेवा, युनिकम्पास ग्लोबल र हिमालयन बिजनेस ग्रुप एजुकेसन एण्ड माइग्रेसन सर्भिस छन्।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार ती ४५ वटै कन्सल्टेन्सीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट आवश्यक अनुमति र सम्बन्धित कागजात प्रस्तुत गर्न नसकेपछि बन्द गराउने निर्देशन दिइएको हो। ‘थप कागज कसैले पनि ल्याएका छैनन्,’ पौडेलले भने, ‘कहीँबाट पनि अनुमति लिएको प्रमाण नदेखिएकाले बन्द गर्न वा आवश्यक कारबाही गर्न पठाएका हौँ। जबर्जस्ती सञ्चालन गरे थप कारबाही हुनेछ।’
खुला अवस्थामा छाडिएका कन्सल्टेन्सीमा अक्टुबर एजुकेसन कन्सल्टेन्सी, आइएलएसी ल्याङ्ग्वेज एण्ड भिसा सर्भिसेज, एइसिसी स्टडी एब्रोड कन्सल्टेन्सी, एक्स्ट्रिम एजुकेसन कन्सल्टेन्सी, एनआइइसी, एसिई टेस्टिङ हब, चितवन कोरियन कल्चर सेन्टर, न्यू एरा एजुकेसन, बिएमडब्लु एजुकेसन कन्सल्टेन्सी, बेस्ट वान एजुकेसन एण्ड भिसा सर्भिस, मभिन कन्सल्टिङ ग्रुप क्यारियर एण्ड भिसा स्पेसिलाइटिस, मिरे कोरियन भाषा पाठशाला, मेन्टर एजुकेसन सेन्टर, सेलेस्टियल जर्नी प्रालि र ह्याप्पी एजुकेसन कन्सल्टेन्सी छन्।
स्थानीयवासीहरूले अवैध कन्सल्टेन्सीको नियन्त्रणमा ढिलाइ हुनु कानूनको कार्यान्वयनमा कमजोरी भएको टिप्पणी गरेका छन्। प्रशासनले भने आवश्यक कागजातबिनाका सबै कन्सल्टेन्सीमाथि कानुनी कारबाही अगाडि बढाइने जनाएको छ।





