नेपाली फिल्म ‘पिताम्बर’ नेपालसँगै अष्ट्रेलियामा समेत शुक्रबारदेखि प्रदर्शनमा

बहुप्रतीक्षित नेपाली चलचित्र पिताम्बर यही शुक्रबारदेखि नेपालसँगै अष्ट्रेलियामा समेत रिलिज हुँदैछ। अष्ट्रेलियाली बक्स अफिसमा यो फिल्म नमस्ते इन्टरटेनमेन्ट र रगडेल ब्वायजको सहकार्यमा प्रदर्शनमा आउन लागेको हो। यी कम्पनीहरूले यसअघि छक्कापञ्जा श्रृंखला, फर्की फर्की, प्रेमगीत ३तेलभिसाजस्ता लोकप्रिय चलचित्रहरू वितरण गरिसकेका छन्।

अष्ट्रेलियामा पछिल्लो समय नेपाली चलचित्रप्रतिको रुचि तीव्र रूपमा बढिरहेको छ, जसका कारण नेपाली डायस्पोरालाई त्यहाँको ठुलो बजारको रूपमा हेरिन्छ।

नमस्ते इन्टरटेनमेन्टका देव कार्की र रगडेल ब्वायजका शीतल गिरीले भने, “चलचित्र पिताम्बरमा चर्चित कलाकारहरूको जमघट भएकोले अष्ट्रेलियामा रिलिज गर्ने निर्णय लिएका हौं।”

फिल्मको एडभान्स टिकट बिक्री सुरू भइसकेको छ, र पहिलो दिनमै पिताम्बरले अष्ट्रेलियाभर १०० भन्दा बढी शोहरू पाएको छ। होयट्स, इभेन्ट्स, रिडिङ, भिलेज, र लाइमलाइट जस्ता चर्चित मल्टिप्लेक्सहरूमा चलचित्र प्रदर्शन हुने पक्का भइसकेको छ।

कृषा चौलागाईंको निर्देशनमा तयार भएको यस फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि र कामेश्वर चौरासिया जस्ता चर्चित कलाकारहरूको अभिनय देख्न पाइनेछ।