काठमाडौँ । ब्राजिलियन लिजेन्ड रोबर्टाे कार्लाेस नेपाल आउने भएका छन् । शनिबार कार्लाेसले एक भिडियोमार्फत जारी नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि आफू नेपाल आउन लागेको जनाएका हुन् ।
“नेपालमा खेलकुदमा भएको विकास प्रशंसनीय छ । यो लिग नेपालमा फुटबलको भविष्यका लागि एउटा ठूलो कदम हो । युवा खेलाडीहरूलाई म मिहिनेत जारी राख्न र उल्लासका साथ खेल्न आग्रह गर्छु, किनकि तपाईंहरू भविष्यका कर्णाधार हुनुहुन्छ,” भिडियोमा कार्लाेसले भनेका छन्।
उनले अगाडि भनेका छन्, “सबै टोली र समर्थकलाई शुभकामना । यो एउटा अविस्मरणीय सिजन हुनसक्छ । म नेपाल आएर खेलप्रतिको उत्साह हेर्न आउन उत्साहित छु । चाँडै भेटौँला ।”
कार्लाेसले सन् २००२ मा ब्राजिललाई फिफा विश्वकपको उपाधि दिलाएका थिए । उनले तीनपटक विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरिसकेका छन् । उनले रियाल मड्रिडबाट चारपटक ‘ला लिगा’को उपाधि जितेका छन् । तीनपटक च्याम्पियन्स लिग जितेका छन् ।
उनको भ्रमण तीन महिनामा नेपालमा भएको दोस्रो ‘लेजेन्डरी भिजिट’ हुनेछ । यसअघि, गत ३ माघ मा इटालियन लिजेन्ड जियान लुइजी बुफोन केपी ओली कपको फाइनलका लागि नेपालमा आएका थिए ।
