क्यानबेरा,अस्टेलियामा भिसा प्रक्रियाको काम गर्ने नक्कली एजेन्टबाट सतर्क रहन अस्ट्रेलियाको गृह मामिला विभागले आग्रह गरेको छ ।
नक्कली एजेन्टहरूले विभिन्न प्रलोभन देखाएर आवेदकलाई ठग्ने गरेको हुदा उनीहरुवाट सजक रहन गृह मामिला विभागले आग्रह गरेको हो । ठगीमा परेमा ठूलो आर्थिक क्षति हुने ,भिसा रद्द हुने, भविष्यमा अष्ट्रेलियन भिसाका लागि अयोग्य ठहरिने तथा देश प्रवेशमा नै प्रतिबन्ध लाग्ने सम्मका गम्भीर परिणाम भोग्नुपर्ने हुदा त्यसवाट सजक रहन अस्ट्रेलियाको गृह मामिला विभागले अपिल गरेको छ ।
अस्ट्रेलियन भिसाका लागि आवेदन दिने प्रक्रियामा नक्कली आप्रवासन एजेन्टहरूबाट ठगीको जोखिम बढ्दै गएको अस्ट्रेलियाको गृह मामिला विभाग (Department of Home Affairs) ले जनाएको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत ठगी गर्ने घटनाहरू धेरै देखिएको विभागको भनाइ छ ।
यस्ता नक्कली एजेन्टहरूले विभिन्न प्रलोभन देखाएर आवेदकलाई ठग्ने गरेका छन ्। अत्यधिक शुल्क लिने, नक्कली कागजात प्रयोग गर्ने, झूटो आश्वासन दिने तथा अवैध रूपमा अष्ट्रेलियामा काम गर्न प्रोत्साहित गर्ने जस्ता गतिविधि यस्ता ठगीको सामान्य तरिका हुन्।
अस्ट्रेलियाको कानुनअनुसार भिसासम्बन्धी परामर्श दिने अधिकार केवल दर्ता प्राप्त आप्रवासन एजेन्ट (Office of the Migration Agents Registration Authority – OMARA ) वा अस्ट्रेलियन कानूनी व्यवसायीहरूसँग मात्र हुन्छ । दर्ता भएका आप्रवासन एजेन्टहरूलाई (Migration Agents Registration Number -MARN )प्रदान गरिन्छ । कुनै एजेन्टसँग सेवा लिनुअघि उनीहरू दर्ता छन् वा छैनन् भन्ने पुष्टि गर्न MARA वेबसाइटमा खोजी गर्न सकिने गृह विभागको सुझाव छ ।
गैरकानुनी रूपमा भिसासम्बन्धी परामर्श दिने एजेन्टहरूको फन्दामा परेमा आवेदकहरूले ठूलो समस्या भोग्नुपर्ने देखिन्छ । ठगीको कारण ठूलो मात्रामा रकम गुम्न सक्छ । झूटो जानकारीका आधारमा भिसा अस्वीकार हुन सक्छ, र यदि भिसा नै रद्द भएमा भविष्यमा अष्ट्रेलियामा प्रवेशसमेत गर्न नपाउने अवस्था आउने गृह विभागका अधिकारीहरु बताउछन् ।
गृह विभागले आवेदकहरूलाई सतर्क रहन र भिसासम्बन्धी प्रक्रिया कानुनी रूपमा दर्ता भएका एजेन्ट वा कानूनी परामर्शदातासँग मात्र गर्न आग्रह गरेको छ । साथै, भिसासम्बन्धी ठगीको सिकार भएको वा कुनै शंकास्पद गतिविधि देखेमा Border Watch पृष्ठमा गएर रिपोर्ट गर्न सकिने बताइएको छ। थप जानकारीका लागि Visa Scams पृष्ठमा आवश्यक विवरणहरू हेर्न सकिन्छ ।
