ब्रिस्बेनमा सवारी साधनको भाडा तिर्न डिजिटल मैत्री प्रविधि लागु गर्ने 

क्यानबेरा,सरकारले ब्रिस्बेनमा यात्रुहरुलाई सार्वजानिक सवारी साधानको भाडा तिर्न सजिलो बनाउने उद्धेश्यले डिजिटल मैत्री प्रविधि लागु गर्ने भएको छ । 

आगामी सोमबारदेखि यात्रुहरूले बस भाडा तिर्दा परम्परागत गो कार्डको साटो बैंक कार्ड, स्मार्टवाच वा मोबाइल फोन ट्यापको प्रयोग गरेर भुक्तानी गर्ने डिजिटल मैत्री प्रविधि लागु गर्ने भएको हो ।

ब्रिस्बेन ट्रान्सपोर्ट प्रणालीलाई डिजिटलमैत्री बनाउन सरकारले यो प्रविधि लागू गरेको हो ।यो सुविधाले यात्रुहरूको समय बचत गर्नुका साथै भुक्तानी प्रक्रियालाई सरल बनाउने विश्वास गरिएको छ ।

तर, डिजिटल प्रणालीसँगै यात्रुहरूलाई केही सावधानी अपनाउन सुझाव दिइएको छ। ‘कार्ड क्ल्यास’ समस्या अर्थात् धेरै कार्ड वा डिभाइस एकैसाथ ट्याप हुँदा भाडा दोहोरिने वा त्रुटि हुन सक्ने भएकाले यात्रुहरूलाई एउटै कार्ड वा डिभाइस प्रयोग गर्न विज्ञहरूले सल्लाह दिएका छन्।

यो नयाँ प्रणालीले डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्दै सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । ब्रिस्बेनका यात्रुहरूका लागि सार्वजनिक यातायातमा भुक्तानी गर्न अब थप सहज हुने भएको छ ।