अष्ट्रेलियामा साइक्लोन एल्फ्रेडको प्रकोप, १ जनाको मृत्यु, १३ सैनिक घाइते

क्विन्सल्यान्ड र न्यु साउथ वेल्समा बाढीको जोखिम यथावत्, ‘साइक्लोन एल्फ्रेड’ को प्रभाव कायमै

ब्रिस्बेन, अस्ट्रेलिया – Ex-Tropical ‘साइक्लोन एल्फ्रेड’ ले क्विन्सल्यान्ड र न्यु साउथ वेल्समा ठूलो क्षति पुर्‍याइरहेको छ। हावाको गति कम भए पनि भारी वर्षाका कारण अझै पनि flash flooding (अचानक बाढी) को जोखिम कायम रहेको अधिकारीहरूले चेतावनी दिएका छन्। आँधीका कारण हजारौं घरको बिजुली आपूर्ति अवरुद्ध भएको छ, पूर्वाधार नष्ट भएका छन्, र एकजनाको मृत्यु पुष्टि भएको छ।

ब्रिस्बेनबाट करिब ३०० किलोमिटर उत्तरमा रहेको हर्भी बे मा आइतबार बिहान केही घण्टामै ३०० मिमि भन्दा बढी पानी परेको थियो। अचानक आएको बाढीले घर तथा व्यवसाय डुबाएको छ भने ७ वटा सवारी साधनमा फसेका व्यक्तिहरूलाई उद्धार गरिएको छ।

बिहान ९:३५ बजे, प्रहरीले आपतकाल घोषणा गर्दै स्थानीयलाई घरमै बस्न र अनावश्यक यात्रा नगर्न आग्रह गर्‍यो। क्विन्सल्यान्डका मुख्यमन्त्री डेभिड क्रिसाफुली ले आँधीको प्रभावलाई गम्भीर रूपमा लिँदै भने, “यसले अझै पनि ठूलो प्रभाव पारिरहेको छ।”

लिस्मोरको लेभी (बाढी रोक्ने पर्खाल) सुरक्षित भए पनि अन्य क्षेत्र विशेष गरी ग्राफ्टन लगायतका स्थानहरूमा बाढीको चेतावनी जारी गरिएको छ। केही स्थानहरूमा अहिलेसम्म डोरिगोमा ८५० मिमि र मेल्ड्रममा ९२६ मिमि पानी परिसकेको छ।

न्यु साउथ वेल्सका मुख्यमन्त्री क्रिस मिन्स ले परिस्थितिलाई “निरन्तर परिवर्तनशील” भन्दै पानीको असमान वितरणले थप चुनौती सिर्जना गरिरहेको बताए।

आँधीले पुर्‍याएको क्षति र बिजुली आपूर्तिमा अवरोध

  • क्विन्सल्यान्डमा ४.५ लाख घर र व्यवसायहरूमा बिजुली गुमेको थियो, जसलाई घटाएर ३ लाखमा ल्याइएको छ।
  • न्यु साउथ वेल्समा ४५,००० घर बिजुलीविहीन भएका थिए, जसमध्ये १४,००० मा सेवा पुनःस्थापित भइसकेको छ।
  • टेलिकम्युनिकेसनमा ठुलो असर, एनबीएनका २.५ लाख ग्राहक, अप्टसका १ लाख सेवा, टेलस्ट्राका १६४ मोबाइल टावर, ७,२६८ ल्यान्डलाइन, र १,८४९ ब्रडब्यान्ड सेवा प्रभावित।

त्यसैगरी आँधीका कारण एकजनाको मृत्यु भएको पुष्टि भएको छ। ६१ वर्षीय टोमी कुक को डोरिगो, न्यु साउथ वेल्स नजिकै बाढीले बगाएको कारमा शव फेला परेको थियो।त्यस्तै, लिस्मोरमा दुईवटा सैन्य सवारी साधन दुर्घटनाग्रस्त हुँदा १२ जना सैनिक घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ। सेना परिचालनबारे केही बहस भइरहे पनि मुख्यमन्त्री मिन्सले संघीय सरकारको सहयोग महत्वपूर्ण रहेको बताए।

विद्यालय बन्द र पूर्वाधारमा क्षति

  • क्विन्सल्यान्डमा विद्यालय सोमबारदेखि खोलिने, तर विद्यार्थीहरूलाई आधिकारिक अपडेट हेर्न सल्लाह।
  • न्यु साउथ वेल्समा २९० भन्दा बढी विद्यालय मंगलबारसम्म बन्द, अवस्था ठिक भए पुनः खुल्ने सम्भावना।
  • उत्तर न्यु साउथ वेल्सका समुद्री किनाराहरूमा भारी क्षति, बालुवाका भागहरू पूर्ण रूपमा बगिसकेको रिपोर्ट।

मौसम पूर्वानुमान: आँधी कहिलेसम्म रहने?

ब्युरो अफ मेट्रोलोजी (BOM) का मौसमविद् सु ओट्स का अनुसार आँधी मंगलबारसम्म कमजोर हुने अनुमान गरिएको छ। तर, भारी वर्षा र आकस्मिक बाढीको जोखिम अझै कायम रहने बताइएको छ।

आपतकालीन सेवाहरूले सतर्कता अपनाउन, आधिकारिक अपडेटहरू अनुगमन गर्न र सुरक्षा निर्देशिका पालना गर्न आग्रह गरेका छन्।

ताजा जानकारीका लागि ABC आपतकालीन रेडियो वा अन्य आधिकारिक स्रोतहरू अनुगमन गर्न सकिन्छ।