क्यानबेरा,:नेपाली गीत,संगीत,कला,संस्कृति र भाषाको प्रवद्र्धन गर्ने उद्धेश्यले अष्ट्रेलियाका पाँच प्रमुख शहरमा नेपाल फेस्टिवल २०२५ हुने भएको छ । मार्च ९ देखि अप्रिल ६ सम्म अष्ट्रेलियाको शहरहरुमा नेपाल फेस्टिवल २०२५ आयोजना हुने भएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको राज्य समितिहरूको आयोजनामा नेपाल फेस्टिवल हुने भएको छ । नेपाल फेस्टिवलको एडिलेडस्थित एल्डर पार्क,मेलबर्नको फेडरेशन स्क्वायर, क्यानबेराको (कमनवेल्थ पार्क),होबार्टको पार्लियामेन्ट हाउस लन (सालामाङ्का),त्यसपछि क्यानबेराको स्टेज ८८ (कमनवेल्थ पार्क),हुँदै ब्रिसबेनको किङ जर्ज स्क्वायरमा हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।
प्रत्येक स्थानमा हुने कार्यक्रमलाई भव्य बनाउने तयारी गरिएको बुझीएको छ । सांस्कृतिक प्रदर्शन, नेपाली खानाका स्टल,परम्परागत तथा आधुनिक संगीत प्रस्तुतीहरू यस फेस्टिवलका मुख्य आकर्षण हुनेछन्। साथै, नेपाली समुदायको पहिचान मजबुत बनाउन परेडको आयोजना समेत गरिनेछ ।
यस वर्षको नेपाल फेस्टिवलमा चर्चित कन्दरा व्याण्डको प्रस्तुती विशेष आकर्षण रहनेछ । कन्दरा व्याण्डले अष्ट्रेलियाका पाँचै शहरमा प्रस्तुति दिने तयारी गरेको छ । नौ वर्षपछि पुनः नेपाल फेस्टिवलमा सहभागिता जनाउन लागेको कन्दरा व्याण्डका सदस्यहरू नेपाली संगीतप्रेमीहरूका लागि नयाँ शैलीको प्रस्तुति लिएर आउने बताइएको छ ।
नेपाल फेस्टिवललाई स्थानीय नेपाली संघसंस्थाहरूको समेत सहयोग प्राप्त हुने भएको छ । साथै, नेपाल सरकारको दूतावास तथा अष्ट्रेलियाका राज्य सरकारहरूले फेस्टिवललाई आर्थिक सहयोग तथा प्राविधिक समर्थन प्रदान गरेका छन्। नेपाली संस्कृति, पर्यटन, भाषा र संगीतको प्रवद्र्धन गर्नुका साथै यस फेस्टिवलले अष्ट्रेलियाको स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सिड्नीमा हालै सम्पन्न नेपाल फेस्टिवलमा नेपाली व्यवसायहरूले उल्लेखनीय भूमिका खेलेको अनुभवका आधारमा अन्य राज्यहरूमा समेत नेपाली व्यवसायहरूको सक्रिय सहभागिता रहने अनुमान गरिएको छ । नेपाल फेस्टिवलका कारण स्थानीय व्यापार व्यवसायहरूलाई लाखौं डलरको आर्थिक गतिशीलता प्राप्त हुने आँकलन गरिएको छ ।
