अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएसन (एञ्जा)को तेस्रो अधिवेशन फेब्रुअरी २१ र २२ मा अष्ट्रेलियाको राजधानी क्यानबेरामा सम्पन्न भएको छ। अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिएको छ, जसअनुसार अध्यक्षमा कृष्ण तिवारी निर्वाचित भएका छन्।
नयाँ नेतृत्व चयन
४३ मताधिकार सदस्य रहेको निर्वाचनमा तिवारीले २५ मत प्राप्त गर्दै प्रतिस्पर्धी नारायण खड्कालाई (१८ मत) पछि पार्दै अध्यक्ष पदमा विजयी भए।
अन्य पदाधिकारीहरू:
- उपाध्यक्ष: माधव प्रसाद गैरे (२२ मत)
- महासचिव: गणेश भट्ट (सर्वसम्मत)
- कोषाध्यक्ष: खगेन्द्र सत्याल (सर्वसम्मत)
- सचिव: तक्दिर अधिकारी (सर्वसम्मत)
कार्यसमितिको सदस्यहरू:
- सरल गुरुङ – ४० मत
- विनायक अधिकारी – ३४ मत
- गोपाल छन्त्याल – ३३ मत
- केदार रायमाझी – २७ मत
संस्थाका संस्थापक एवं संरक्षक हेमन्त काफ्लेले निर्वाचनलाई संस्थाको सुदृढीकरणका लागि सकारात्मक संकेत भएको बताएका छन्।
“प्रजातान्त्रिक प्रक्रियाबाट चयन भएको नयाँ नेतृत्वले समुदायको हितमा प्रभावकारी काम गर्ने विश्वास लिएको छु”, उनले भने।
नयाँ कार्यसमितिलाई शुभकामना दिन नेपालकी अष्ट्रेलियाका लागि राजदूत चित्रालेखा यादव, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, क्षेत्रीय संयोजक दिनेश पोखरेल, तराई समाज अष्ट्रेलियाका अध्यक्ष रञ्जित शाह, नारी निकुञ्जकी संयोजक संगीता चापागाईंलगायतको उपस्थिति थियो।

अतिथिहरूले पत्रकारितामा उच्च नैतिकता (Ethics) पालनाको आवश्यकता औंल्याउँदै, समुदायलाई सही सूचना प्रदान गर्ने जिम्मेवारी अझ गम्भीर रूपमा बहन गर्नुपर्ने सुझाव दिए।
एनआरएनए अध्यक्ष अनिल पोखरेलले भने, “पत्रकारिता मर्यादित र निष्पक्ष हुनुपर्छ। निस्वार्थ सञ्चारकर्म गर्ने पत्रकारहरूलाई धन्यवाद दिन चाहन्छु”।
सरल गुरुङलाई ‘स्वर्गीय टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार’
अष्ट्रेलियामा लामो समयदेखि पत्रकारिता गरिरहेका नेपाल ट्युबका सम्पादक सरल गुरुङलाई ‘स्व. टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। प्रवासी नेपाली समुदायका गतिविधिहरू निरन्तर समाचारमार्फत उठान गरिरहेका गुरुङलाई AUD 1,001 राशिको पुरस्कार प्रदान गरिएको हो।

पुरस्कार ग्रहण गर्दा गुरुङ भावुक बने। “यो माया र सम्मानले गर्वान्वित महसुस गराएको छ, अझ जिम्मेवार भएर पत्रकारिता गर्ने प्रेरणा मिलेको छ”, उनले भने।
स्व. टिका कार्कीको स्मृतिमा स्थापित यो पुरस्कारका लागि लेखिका एवम् सामाजिक अभियन्ता प्रतिज्ञा अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो।
नयाँ नेतृत्वको कार्यकाल सफल होस् भन्ने शुभेच्छासहित, प्रवासमा नेपाली पत्रकारितालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
