अमेरिकी सहायता रोकिएपछि नेपालमा दर्जनौं परियोजना प्रभावित, भविष्य अन्योलमा

काठमाडौं । अमेरिकी सरकारले नेपाललाई दिने दुई ठूला सहयोग रोकिएपछि दर्जनौं विकास परियोजनाको भविष्य अन्योलमा परेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी) मार्फत प्रवाह हुने सहयोग रोकिएपछि नेपालमा सञ्चालित विभिन्न ठूला योजनाहरू प्रभावित भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०२५ जनवरी २० मा जारी कार्यकारी आदेशअनुसार ९० दिनका लागि सहायता रोकिएपछि नेपालमा एमसीसी अन्तर्गतका विद्युत प्रसारण लाइन तथा सडक स्तरोन्नति योजनाहरू ठप्प भएका छन् ।

नेपाल सरकारले २०७४ भदौ २९ मा एमसीसीसँग सम्झौता गरेको थियो, जसअनुसार नुवाकोटको रातमाटेदेखि बुटवल हुँदै गोरखपुरसम्म ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण कार्य भइरहेको थियो । युएसआईडीका चार ठूला परियोजनाहरू- स्वास्थ्य, कृषि, शिक्षा र समावेशी नीति सुधारका कार्यक्रमहरू समेत ठप्प हुने खतरा देखिएको छ ।

सहायता रोकिँदा विकास आयोजना संकटमा
युएसआईडी स्वास्थ्य परियोजनामा ४२५ मिलियन डलर, कृषि क्षेत्रमा ४२१ मिलियन डलर, शिक्षा क्षेत्रमा ४८५ मिलियन डलर र समावेशी नीति सुधारका लागि ठूलो रकम लगानी गरिँदै थियो । तर सहायता रोकिएपछि यी परियोजनाहरू अन्योलमा परेका छन् ।

अर्थविद्हरूले वैदेशिक सहायताको अपरिहार्यता औंल्याएका छन् । अर्थविद् चन्द्रमणि अधिकारीका अनुसार नेपालमा बजेट घाटा बढिरहेको छ, जसले वैदेशिक सहयोग अपरिहार्य बनाएको छ ।

संघीय सरकारले उठाउने राजस्व चालु खर्चले समेत धान्न नसक्ने अवस्थामा पुगेको हुँदा विकास आयोजना अघि बढाउन विदेशी सहयोग आवश्यक रहेको अधिकारी बताउँछन् । अमेरिकी सहायता रोकिँदा नेपाल वैकल्पिक स्रोत खोज्ने कि अन्य दातृ राष्ट्रसँग सहकार्य गर्ने भन्ने बहस पनि बढ्दै गएको छ ।