अस्ट्रेलियन सरकारले नयाँ चाइल्ड केयर अनुदान विधेयक पारित गरेको छ, जसले करीब १ लाख अस्ट्रेलियन परिवारलाई आर्थिक रूपमा राहत दिने अपेक्षा गरिएको छ। चाइल्ड केयर शुल्क निरन्तर वृद्धि भइरहेको अवस्थामा तथा अधिकांश परिवारहरूले आर्थिक चुनौतीको सामना गरिरहेका बेला, सरकारले यो योजना अघि बढाएको हो।
के-कस्तो सहुलियत उपलब्ध हुनेछ?
नयाँ योजनाअनुसार वार्षिक ५ लाख ३० हजार डलरभन्दा कम आम्दानी गर्ने परिवारहरूलाई हप्तामा तीन दिनसम्म चाइल्ड केयर शुल्कमा सहुलियत दिइनेछ। साथै, सन् २०२६ को जनवरी १ देखि लागू हुने यो योजनामा, तीन दिनका लागि चाइल्ड केयर सब्सिडी लिन अनिवार्य जागिर, अध्ययन, वा स्वयंसेवामा संलग्न हुनुपर्ने नियम (Activity Test) हटाइनेछ। तर, तीन दिनभन्दा बढी चाइल्ड केयर सेवा आवश्यक पर्ने परिवारहरूका लागि पुरानै Activity Test यथावत रहनेछ।
किन गरियो यो परिवर्तन?
सन् २०१८ मा लागू गरिएको Activity Test को उद्देश्य अभिभावकहरूलाई रोजगारीमा संलग्न गराउनु थियो। तर, सन् २०२४ मा प्रकाशित अस्ट्रेलियन Productivity Commission को रिपोर्टअनुसार, यो नियमले अभिभावकहरूलाई रोजगारीमा ल्याउन अपेक्षित प्रभाव पार्न सकेन। रिपोर्टमा बालबालिकाले चाइल्ड केयर सुविधामा पहुँच पाउने विषयलाई अभिभावकको रोजगारीसँग नजोडिनु पर्ने सुझाव दिइएको थियो।
सरकारको यो निर्णय आगामी मे महिनामा हुने संघीय चुनावअघि नै कार्यान्वयन हुने अपेक्षा गरिएको छ।






