चिया-कफीका लागि भेटिरहने साथी पैसा लिएपछि किन हराउँछन् ?

मेरा लागि साथी भनेको विश्वास, सहारा र सहकार्यको प्रतीक हो । साथीहरूसँग बिताएका हरेक पलहरू मेरा लागि महत्त्वपूर्ण छन् । चिया-कफीका लागि दिनहुँ भेट हुने साथीहरूसँग रमाइलो कुराकानी गर्ने, जीवनका चुनौतीहरू बाँड्ने र साथ दिइने क्षणहरूले मित्रताको गहिराइ झल्काउँछन् । तर, यस्तो पनि समय आउँछ, जब त्यही साथीले कुनै आर्थिक सहयोग लिएपछि सम्पर्क नै तोडिदिन्छन् । त्यसबेला मनमा अनेक प्रश्न उठ्छ- ‘उनीहरू पैसा लिएपछि हराउँछन् किन ?’

म कहिले काहीँ सोच्ने गर्छु, कसरी कुनै साथी जसले मसँग हरेक दिन हाँसी खुसी समय बितायो, एक्कासि हराउन सक्छ ? यो केवल आर्थिक लेनदेनको कुरा मात्र होइन, यो विश्वासमाथिको चोट हो । साथीले पैसा मागेपछि सहयोग गरौं भन्ने लाग्छ तर, पैसा फिर्ता गर्ने बेला उसको हराउने प्रवृत्तिले मेरो मनमा निराशा मात्र होइन, मित्रताको वास्तविकता प्रति शंका पैदा गर्छ ।

साथीहरूले किन हराउँछन् ?
मेरो अनुभवले देखाएको छ कि साथीहरू पैसा लिएर हराउनुका पछाडि धेरै कारण हुन सक्छ । केही साथीहरूले आफूले फिर्ता गर्न नसक्ने डरले सम्पर्क तोड्छन् । उनीहरूलाई सायद लाज लागिरहेको हुन्छ, तर यसले मलाई झन् ठूलो चोट पुर्‍याउँछ । केही साथीहरू केवल व्यक्तिगत फाइदाका लागि मात्र नजिक हुन्छन्, र पैसा पाएपछि हराउने उनीहरूको नियत नै हुन्छ ।

मलाई थाहा छ, सबै साथीहरू स्वार्थी हुँदैनन् । धेरै पटक, वास्तविक आर्थिक संकटका कारण उनीहरू सहयोग माग्छन् । तर, समस्या सुरु तब हुन्छ, जब उनीहरूले आफ्नो समस्या बारे खुलेर भन्न छाड्छन् । पैसा फिर्ता गर्न नसके पनि कम्तीमा कुरा गर्नु भनेको मित्रताको सम्मान हो । तर उनीहरूले यो नगर्दा म केवल प्रयोग भएको महसुस गर्छु ।

मैले के सिकें ?
साथीहरूसँगको आर्थिक सम्बन्धले मलाई धेरै कुरा सिकाएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आर्थिक लेनदेन र मित्रतालाई अलग राख्न सिक्नु हो । मैले अब पैसा दिने निर्णय गर्दा धेरै सोच्न थालेको छु । केवल भावना होइन, विवेकको प्रयोग गर्नु जरुरी छ भन्ने बुझेको छु ।

मलाई थाहा छ, मसँग सम्पर्क टुटेका ती साथीहरूसँग अब कुरा गर्न गाह्रो हुन्छ । तर, यदि उनीहरूले कहिल्यै सम्पर्क गरे र आफ्नो परिस्थिति बारे मलाई भने भने, म उनीहरूलाई फेरि मौका दिनेछु । मित्रतालाई समाप्त गर्नु मेरो स्वभाव होइन ।

के गर्न सकिन्छ ?
मलाई लाग्छ, हामीले साथीहरूसँग आर्थिक कुरामा स्पष्टता राख्नुपर्छ । यदि पैसा दिनुपर्छ भने फिर्ता गर्ने समय र प्रक्रिया प्रस्ट गर्नुपर्छ । मैले पनि लेखन प्रमाणको महत्त्व बुझ्न थालेको छु, जसले दुवै पक्षलाई सुरक्षित राख्छ ।

अन्तमा मित्रता भनेको केवल चिया कफीमा रमाइलो गर्ने सम्बन्ध होइन । यो विश्वास, इमानदारी र कठिन परिस्थितिमा साथ दिने सम्बन्ध हो । पैसा फिर्ता गर्न नसक्ने परिस्थितिमा सम्पर्क टुटाउनु र हराउनु मित्रताको सम्मान गर्न नजान्नु हो ।

साथीहरूले आफ्ना कमजोरी स्वीकारेर संवाद कायम राखे भने मित्रता जोगाउन सकिन्छ । अब म यही सोचमा छु- ‘साँचो मित्रता भनेकै कठिन समयमा पनि कायम रहने विश्वास हो ।’

रोशन पोखरेल