आयुर्वेदिक औषधिको नाममा ठगी : प्रयोगले जोर्नीदेखि मिर्गौलासम्म असर

काठमाडौं । केही समयअघि टेलिभिजनमा आयुर्वेदिक मलमको विज्ञापन देखेकी कमलपोखरीकी ७० वर्षीया वृद्धा त्यो मलम मगाएर दुखेको घुँडा ठीक गर्न चाहन्थिन् । ६ हजार रुपैयाँ तिरेर ल्याइएको मलमले उनको समस्या समाधान गर्नु त परै जाओस्, घुँडाको पीडा उस्तै रह्यो । पैसा फिर्ता गरिदिने वाचा पनि पूरा भएन ।

त्यसपछि मैले महसुस गरें- आयुर्वेदिक औषधिका नाममा भइरहेको ठगी अहिले गम्भीर समस्याका रूपमा देखा परेको छ । यस्तै अर्को घटनामा, काठमाडौंकै ४७ वर्षीया महिलाले ‘हाडजोर्नी दुखाइको उपचार गर्ने’ भनिएका एक आयुर्वेदिक डाक्टर कहाँ गईन् ।

उनले पोकामा राखिएको नामविहीन औषधि प्रयोग गरिन् । केही समयपछि उनको जोर्नी दुखाइ त केही कम भयो, तर उनको तौल अस्वाभाविक रूपमा बढ्न थाल्यो । त्यसपछि उनी पाटन अस्पताल पुगिन् । त्यहाँ जाँच गर्दा उनले खाएको औषधिमा प्रेडनिजलोन नामक आधुनिक औषधि मिसाइएको पत्ता लाग्यो ।

यो औषधि गम्भीर समस्यामा मात्र डाक्टरको निगरानीमा प्रयोग गरिन्छ । डाक्टरले उनलाई त्यो औषधि तुरुन्त बन्द गर्न सुझाव दिए । यस्ता घटनाले देखाउँछ कि आयुर्वेदिक औषधिको नाममा भएका ठगीले हाम्रो स्वास्थ्यमा कति ठूलो संकट निम्त्याउन सक्छ ।

आयुर्वेदिक औषधिको नाममा ठगी
भारतको मुम्बईमा गरिएको एक अध्ययनले ९६ प्रतिशत आयुर्वेदिक औषधिमा ‘स्टेरोइड’ मिसाइएको पत्ता लगाएको थियो । आयुर्वेदिक भनिएका औषधिमा आधुनिक औषधिको मिसावटले सुरुमा केही समयको लागि प्रभावकारी देखिन सक्छ, तर यसले दीर्घकालीन समस्या निम्त्याउँछ ।

नेपालमा पनि टेलिभिजन र अनलाइन माध्यममा आयुर्वेदिक औषधिको विज्ञापन गर्ने प्रचलन बढ्दो छ । “घुँडा दुखाइ ठीक नभए पैसा फिर्ता” जस्ता ग्यारेन्टी दिने प्रचारहरूमा विश्वास गर्ने धेरैले गम्भीर स्वास्थ्य समस्या भोगिरहेका छन् ।

ठगीका केही उदाहरणहरू
१. भारतमा मधुमेह उपचारका लागि आयुर्वेदिक औषधि प्रयोग गर्ने एक व्यापारीको मिर्गौला खराब भयो ।
२. नेपालमा, हाडजोर्नी बाथका बिरामीलाई स्टेरोइड मिसिएको औषधि खुवाइएको पाइएको छ ।

सचेत उपभोक्ता बन्नु आवश्यक
सामान्यतया, आयुर्वेदिक औषधिलाई सुरक्षित मानिन्छ । तर नामविहीन, ठेगाना नभएका र विज्ञापनमा ठूलो ग्यारेन्टी दिने उत्पादनहरू पूर्ण रूपमा अविश्वसनीय हुन् । आयुर्वेदिक औषधि प्रयोग गर्नुअघि, त्यसको स्रोत, गुणस्तर र प्रमाणित अवस्था जाँच्नुपर्छ । ठगी गर्नेहरूको मुख्य निशाना नबन्नुहोस् । हाम्रो स्वास्थ्यको सुरक्षा हाम्रो सचेतनामा भर पर्छ । डाक्टरको सल्लाह बिना कुनै पनि औषधि प्रयोग नगर्नुहोस् । ठगीबाट बचौं र स्वास्थ्यलाई प्राथमिकतामा राखौं ।