अस्ट्रेलियाका विभिन्न राज्यहरूमा एक वर्षभित्र २,४२६ नेपालीले पासपोर्ट नविकरण गरेका छन्। यो सेवा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया र नेपाली दूतावासको सहकार्यमा आयोजित पासपोर्ट घुम्ती शिविरमार्फत प्रदान गरिएको हो।
पर्थमा आयोजित शिविरबाट ५४१ जना, एडिलेडमा ६०३ जना, ब्रिसबेनमा ४५० जना, डार्विनमा ३३३ जना, र तास्मानियामा ५०० जनाले सेवा लिएका छन्।
घुम्ती शिविरले सेवाग्राहीलाई क्यानबेरामा आउने–जाने झन्झटबाट मुक्ति दिँदै लाखौं डलर बचत गराएको छ। यी शिविरका खर्च व्यवस्थापनका लागि सेवाग्राहीबाट २५ देखि ७० डलरसम्मको सहयोग संकलन गरिएको थियो। संकलित रकमले शिविर व्यवस्थापनका साथै दूतावासका कर्मचारीहरूको हवाई टिकट र आवास खर्च पनि समेटिएको छ।
शिविरबाट बचत भएको रकम सामाजिक तथा परोपकारी कार्यमा खर्च गरिने बताइएको छ। साथै, स्वयंसेवकहरूले गरेको निःस्वार्थ योगदानले कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ।
