यो समय प्राय नेपालमा बिहेको सिजनको रूपमा परिचित छन्। जागिर र करिअर व्यवस्थापन गरी बिहेको योजना बनाउनेका लागि यो समय उत्साहजनक हुन्छ । तर, केटाहरूका लागि पनि यो समय एक प्रकारको मानसिक दबाब सिर्जना गर्ने सिजन हो । “अब बिहे गर” भन्ने आवाज घरदेखि छरछिमेक, साथीभाइ र आफन्तहरूमाझबाट आउन थाल्छ ।
नेपालमा केटाहरू २५/३० वर्षको उमेर पुग्नासाथ बिहेको चर्चा सुरु हुने परिपाटी पुरानै हो । परिवार, छरछिमेक र आफन्तको सुझाव- कहिले काहीँ दबाबले केटाहरूलाई सोच्न बाध्य बनाउँछ । “अब बिहे गर्न ढिलो नगर” र “योभन्दा राम्रो केटी पाइँदैन” जस्ता सुझावले मानसिक तनाव थप्छ । यी सल्लाहले खास गरी करिअर बनाउन र जीवनलाई व्यवस्थित गर्न चाहने युवाहरूलाई चिन्तित तुल्याउँछ ।
बिहे : उमेर कि तयारी ?
बिहे कुनै साधारण निर्णय होइन । यो जीवनकै महत्त्वपूर्ण मोड हो, जसले व्यक्तिगत चाहना, सपना र जीवनको लक्ष्यलाई प्रभावित गर्छ । उमेर मात्र हेरेर गरिएको बिहेले जीवनभर पछुतोको कारण बन्न सक्छ । बिहे सम्बन्ध, विश्वास र जीवनभरको सहयात्राको प्रतिविम्ब हो । तसर्थ, यसलाई हतारमा होइन, सोचविचार गरेर मात्र निर्णय गर्नु उचित हुन्छ ।
हाम्रो समाजमा “उमेर पुगेपछि बिहे गर्नैपर्छ” भन्ने धारणा गहिरो छ । यो धारणा केटाहरूका लागि पनि दबाबको रूपमा प्रस्तुत हुन्छ । विशेष गरी २५/३० वर्षको उमेरमा केटाहरूलाई “अब ढिलो नगर” भन्ने सुझावले सताउँछ । परिवार र समाजको अपेक्षाले कतिपय युवाहरू आफ्ना सपना र लक्ष्यलाई थाँती राखेर बिहे गर्न बाध्य हुन्छन् । तर, के उमेरको कारणले मात्र गरिएको बिहेले जीवन सहज र खुसी बनाउने ग्यारेन्टी दिन्छ ?
समाजको दबाब र व्यक्तिगत चाहना
समाजको संरचना र परम्पराले केटाहरूलाई एउटा निश्चित ढाँचामा राख्न खोज्छ । घरमा बिहेको कुरा सुरु भएपछि आफन्त, छरछिमेक र साथीभाइबाट “फलानाले गर्यो, तैंले किन नगर्ने ?” भन्ने कुरा सुनिन्छ । यस्तो तुलना र दबाबले युवाहरूलाई तनावमा राख्छ ।
धेरैजसो अवस्थामा, केटा सरकारी जागिरे छ भने “योभन्दा राम्रो केटी पाइँदैन” भन्ने तर्क अगाडि सारिन्छ । परिवारले यो सुझावलाई समर्थन गर्छ र छिट्टै निर्णय लिन दबाब दिन्छ । तर, के परिवार र छरछिमेकले भनेकै आधारमा बिहे गर्नुपर्ने हो ? जीवनसाथी छान्ने निर्णय अत्यन्त व्यक्तिगत हो र यसमा युवाको इच्छा, सपना र परिस्थिति प्राथमिक हुनुपर्छ ।
आत्मनिर्भरता र करिअरको महत्त्व
केटाहरूका लागि २५/३० वर्षको उमेर जीवनमा स्थिरता ल्याउने, आत्मनिर्भर बन्ने र करिअरको बलियो आधार निर्माण गर्ने समय हो । यो समय पढाइ पूरा गर्ने, जागिरमा अग्रसर हुने र आर्थिक रूपमा सक्षम बन्ने चरण हो । तर, समाजले केटाहरूलाई पनि यो समय आफ्नो करिअर र सपनामा केन्द्रित हुन दिनेभन्दा बढी बिहे गर्ने दबाब दिन्छ ।
आफ्ना व्यक्तिगत सपना र आकांक्षालाई पछाडि पारेर बिहे गर्ने निर्णयले दीर्घकालीन असन्तोष सिर्जना गर्न सक्छ । जीवनसाथीको चयन कुनै बाध्यता होइन; यो चाहना र आपसी समझदारीको आधारमा हुनुपर्छ । केटाहरूले आफ्नो जीवनको लक्ष्य र सपनालाई साकार पार्न पाउनुपर्छ । बिहे कुनै उमेरको मापदण्डमा बाधिने निर्णय होइन ।
परिवारको भूमिका
परिवारको भूमिका केटालाई केवल बिहे गराउनु होइन; उनलाई सक्षम र आत्मनिर्भर बनाउन प्रेरित गर्नु पनि हो । सक्षम केटाले आफ्नो परिवारको नाम मात्र होइन, समाजमा पनि पहिचान स्थापित गर्न सक्छ । तर, प्राय: जसो परिवारले छरछिमेक र समाजको दबाबलाई ध्यानमा राखेर छिटो बिहेको निर्णय लिन्छ । यो निर्णयले युवाको करिअर र व्यक्तिगत योजनालाई अवरोध पुर्याउन सक्छ ।
केही परिवारहरूले भने छोराको सपना, योजना र चाहनालाई बुझेर समर्थन गर्छन् । यस्ता परिवारहरूले बिहेको निर्णयलाई दबाब होइन, परामर्शको रूपमा प्रस्तुत गर्छन् । यसले युवालाई आत्मनिर्भर बन्न प्रेरित गर्छ र जीवनलाई सहज बनाउन मद्दत पुर्याउँछ ।
निर्णय सोचविचार गरेर लिनुपर्छ
बिहे कुनै बाध्यता होइन । यो प्रेम, विश्वास र आपसी समझदारीको सम्बन्ध हो । यो निर्णय हतारमा गर्नुको साटो सोचविचार गरेर गर्नुपर्छ । उमेरको आधारमा होइन, आफ्नो मानसिक, भावनात्मक र आर्थिक स्थिरताको आधारमा यो निर्णय लिनुपर्छ ।
समाजले भनेको हरेक कुरा सुनिरहनु ठिकै हो, तर जीवनका महत्त्वपूर्ण निर्णयमा अन्तत: आफ्नै भलाइ सोच्नुपर्छ । बिहे जीवनभरको सहयात्रा हो । यो प्रेम र खुसीको अनुभव हो, जसमा भय, संशय र दबाबको ठाउँ हुनु हुँदैन । तसर्थ, जब तपाईं तयार महसुस गर्नुहुन्छ र सही व्यक्ति भेट्टाउनुहुन्छ, तब मात्र बिहेको निर्णय गर्नु उपयुक्त हुन्छ ।
अन्त्यमा, बिहे उमेरको कुरा होइन; यो इच्छाको कुरा हो । समाजले दिएको सुझाव र अपेक्षालाई ध्यानमा राख्न ठीक छ, तर अन्तिम निर्णय आफ्नो खुशी र भलाइलाई आधार मानेर लिनुपर्छ । जिन्दगी आफ्नै हो, त्यसैले बिहे जस्तो महत्त्वपूर्ण निर्णय सोचेर र भविष्यलाई ध्यानमा राखेर मात्र गर्नुपर्छ । सामाजिक दबाबले प्रेरित नभई, प्रेम र आपसी समझदारीले भरिएको सम्बन्ध स्थापना गर्नेतर्फ लाग्नुपर्छ । यही साँचो निर्णय हो, जसले तपाईंको जीवनलाई सन्तोषजनक बनाउनेछ ।