गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिहरूले अब दश वर्षसम्म नेपालमा निःशुल्क भिसामा बस्न पाउने भएका छन्। सरकारले यो सुविधा सुनिश्चित गर्नका लागि कानुन संशोधनको तयारी गरिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न सहज बनाउने उद्देश्यले कानुनमा आवश्यक परिमार्जन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। यो अध्यादेश राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएपछि लागू हुनेछ।
अध्यादेशले गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिहरूलाई नेपालमा कम्पनी दर्ता गर्न सहज बनाउने र विदेशी लगानी अनुमति लिनुपर्ने झन्झट हटाउने कानुनी प्रावधान ल्याएको छ।
नेपालको संविधान २०७२ अनुसार तयार भएको नागरिकता ऐनअनुसार नेपालमा ३० असोज २०८० बाट गैरआवासीय नेपाली नागरिकता वितरण सुरू गरिएको थियो। गृह मन्त्रालयका आँकडाका आधारमा अहिलेसम्म तीन हजारभन्दा बढी व्यक्तिले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिसकेका छन् | त्यसैगरी एनआरएन नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न पाउने व्यवस्था गरिएको छ । गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति यहाँ लगानी गर्न यसअघि कानुनी जटिलता थियो । त्यसलाई अन्त्य गरी मुलुकमा लगानीको वातावरण सहज बनाउन सरकारले अध्यादेशमार्फत् यस्तो व्यवस्था गरेको हो ।





