अस्ट्रेलियामा क्रियाशील नेपाली पत्रकारहरुको साझा संगठन, अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट्स एशोसिएसन (एञ्जा), को तेश्रो अधिवेशन आगामी फेब्रुअरी २१ र २२ तारिखका दिन क्यानबेरामा आयोजना हुने भएको छ। शुक्रवार र शनिवारका दिन हुने यस अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
एञ्जाले तयारी समिति गठन गर्दै, अध्यक्ष देवकोटाको संयोजकत्वमा तीन उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रवक्ता र पब्लिक अफिसरलाई जिम्मेवारी तोकिएको छ। साथै, कार्यक्रम स्थल व्यवस्थापन र आर्थिक संयोजनका लागि उपाध्यक्ष कृष्ण तिवारीको नेतृत्वमा उपसमिति गठन गरिएको छ, जसमा विनायक अधिकारी, गणेश भट्ट, र खगेन्द्र सत्याल सदस्य रहेका छन्।
नयाँ सदस्यता आवेदन बन्द गरिएको र सदस्यता नवीकरणका लागि जनवरी २५ तारिखसम्मको समय तोकिएको छ।
अधिवेशनको विशेष आकर्षणको रुपमा “स्वर्गीय टीका कार्की स्मृति पुरस्कार” प्रदान गरिनेछ। पुरस्कार छनोट समितिमा अध्यक्ष देवकोटा, कानूनी सल्लाहकार टोनु घोताने र समुदायकी अगुवा प्रतिज्ञा अधिकारी सम्मिलित छन्।
एञ्जाले आफ्नो सदस्यता शुल्कलाई १०० अष्ट्रेलियन डलर तोकेको छ। अधिवेशनमा सहभागी हुने सदस्यहरुले थप १०० डलर तिर्नुपर्नेछ। यस्तै, सक्रिय पत्रकारिताबाट निवृत्त भइसकेका सदस्यहरुलाई ‘एञ्जा काउन्सिल’ मा समेट्ने तयारी गरिएको छ। काउन्सिल सदस्यहरुको सदस्यता शुल्क भने ५० डलर हुनेछ।
सन् २०१९ मा स्थापना भएको एञ्जा, अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको एक मात्र आधिकारिक संगठन हो। यसले नेपाली पत्रकार महासंघ (FNJ) को आधिकारिक प्रतिनिधित्व पनि गर्दछ।
तेश्रो अधिवेशनले एञ्जाको भविष्यको मार्गचित्र तय गर्दै नेपाली पत्रकारहरुको हितमा अझ प्रभावकारी कदम चाल्ने विश्वास गरिएको छ।
यसअघि, एञ्जाको विधान अधिवेशन ब्रिसबेनमा सम्पन्न भएको थियो। यसले पत्रकारितामा संलग्न तर हाल सक्रिय नरहेका सदस्यहरुलाई पनि संस्थागत संरचनामा समेट्ने निर्णय गरेको थियो।
क्यानबेरामा हुन लागेको यो अधिवेशनले अस्ट्रेलियाका नेपाली पत्रकारहरुलाई नयाँ ऊर्जासहित एकजुट गराउने अपेक्षा गरिएको छ।
