साउदी अरबबाट फर्किएका एक नेपालीमा मंकीपक्स पुष्टि, कत्तिको छ खतरनाक ?

काठमाडौं । साउदी अरबबाट फर्किएका एक जना नेपालीमा मंकीपक्स (एमपक्स) संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर परीक्षणमा ४४ वर्षीय ती पुरुषमा एमपक्स संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएपछि उनलाई टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ । यसअघि पनि साउदी अरबबाट फर्किएका अर्का एक नेपालीमा एमपक्स पुष्टि भएको थियो ।

टेकुमा उपचाररत ती व्यक्तिको स्वास्थ्य अवस्था सुधार भएको अस्पतालले जनाएको छ । नेपालमा यो तेस्रो पटक एमपक्स संक्रमण पुष्टि भएको हो । यसअघि २०२२ मा ६० वर्षीया विदेशी महिलामा एमपक्स देखिएको थियो ।

के हो मंकीपक्स ?
मंकीपक्स भाइरसबाट हुने सरुवा रोग हो, जुन मानिसबाट मानिसमा या जनावरबाट मानिसमा सर्दछ । यस रोगले ज्वरो, घाउ–खटिरा, टाउको दुख्ने, शरीरका ग्रन्थिहरू बढ्ने र गम्भीर अवस्थामा दृष्टि गुम्ने वा अन्य जटिलता समेत निम्त्याउन सक्छ ।

रोकथामका उपाय
– संक्रमित व्यक्तिसँगको प्रत्यक्ष सम्पर्क टार्ने ।
– संक्रमितलाई आइसोलेसनमा राख्ने ।
– साबुनपानीले हात धुने या स्यानिटाइजर प्रयोग गर्ने ।
– संक्रमितका लुगा, ओछ्यान र भाँडाकुँडा सफा गर्ने ।
– मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने ।
– कुनै शंका भएमा चिकित्सकको सल्लाह लिनु आवश्यक ।

हाल मंकीपक्सका लागि कुनै विशेष औषधि वा खोप उपलब्ध छैन । सावधानी अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो ।