प्रियंका कार्कीको दोस्रो हरर फिल्म ‘ममी’को टिजर सार्वजनिक

हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर सार्वजनिक भएको छ, जसमा दीया मास्के, सुलक्षण भारतीय, र प्रियंका कार्की शीर्ष भूमिकामा देखिएका छन्। टिजरले फिल्मको कथावस्तु, पात्रहरूको चित्रण, र रहस्यमय घटनाहरूको संकेत गर्दछ।

फिल्ममा परिवारको प्रिय कुकुरको मृत्युपछि कालो बिरालो पाल्दा उत्पन्न हुने रहस्यमय घटनाहरू चित्रित छन्। टिजरले दर्शकहरूलाई थ्रीलर र रहस्यको माहोलमा डुबाउन प्रयास गरेको छ। प्रियंका कार्कीका लागि यो दोस्रो हरर फिल्म हो, यसअघि उनले ‘चि मुसी चि’मा अभिनय गरेकी थिइन्।

फिल्मको निर्देशन समर निरौलाले गरेका हुन्, यो उनको डेब्यु प्रोजेक्ट हो। पटकथा निरौला र पूर्णिमा जोशीले मिलेर लेखेका छन्। निर्माता लोकराज जोशी र पूर्णिमा जोशी हुन् भने सुमन कोइराला कार्यकारी निर्माताको रूपमा छन्।

फिल्ममा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, र गीत विष्टले पनि अभिनय गरेका छन्। छायांकन निशाल पौडेल र शरद महतोले गरेका हुन् भने सम्पादन सुरेन महर्जनले गरेका छन्। संगीत एसडी योगीले तयार पारेका छन्, पाश्र्वध्वनि रोहित शाक्यको छ, र साउन्ड डिजाइन श्रवल आरपीले गरेका छन्।

‘ममी’ २५ माघमा प्रदर्शन हुने तय गरिएको छ। फिल्मलाई काठमाडौंमा काफिया फिल्म्स र मोफसलमा कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछन्।